काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा अन्तरपार्टी संघर्ष गर्नसक्ने अवस्था नै नभएकाले आफूहरुले विद्रोह गरेर अघि बढेको बताएका छन् ।
सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधनका अध्यक्ष नेपालले सो बताएका हुन् ।
कतिपयलाई किन विद्रोह गरेको त्यही बसेर अन्तरसंघर्ष गरेका भए हुँदैन थियो भने लागिरहेको हुनसक्ने बताउँदै उनले एमालेमा स्पेस नै नभएकाले एमालेलाई टाटा बाइबाई गर्नु परेको बताए ।
उनले भने, ‘जब स्पेस हुन्छ । त्यहाँ अन्तरपार्टी संघर्ष चल्छ । र जहाँ ढोका बन्द गरिन्छ, ढोका बन्द गरेको मात्रै होइन, छिर्न नै दिइँदैन, छिरिसकेपछि निस्सासिने अवस्था आउँछ, निस्सासिएपछि विद्रोह हुन्छ ।’
उनले प्रवेश गर्न दिएपछि कि ढोका तोड्ने स्थिति हुन्छ कि टाटा बाइबाई गर्दै नयाँ संरचना बनाउने काममा अगाडि बढ्नुपर्ने अवस्था आउने बताए ।
उनले आफू विद्रोह गरेपनि केही नेताहरु आँट नभएकै कारण एमालेको ढोकामा रोएर कराएर बसिरहेको टिप्पणी गरे ।