एमालेको भावी वरिष्ठ उपाध्यक्ष नेम्वाङ कि पोखरेल ?

प्रमुख प्रतिपक्षी नेकपा एमालेको १०औँ महाधिवेशन मिति नजिकिएसँगै नेकपा एमालेभित्र आन्तरिक सर्गर्मी बढेको छ। भीम रावलले आफू १४औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उठ्ने घोषणा गरे पनि ओली एमालेको आसन्न महाधिवेशनबाट अध्यक्षमा चयन हुने निश्चित छ । जसका कारण अध्यक्ष पदका लागि भएको यो प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छैन । 

तर, सोभन्दा तल्लो तहको पद अर्थात् वरिष्ठ उपाध्यमा संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ र महासचिव ईश्वर पोखरेल आकांक्षीका रुपमा प्रस्तुत भएका छन् । जसका कारण महाधिवेशनको रौनकता बढेको छ ।

वरिष्ठ उपाध्यक्ष पदलाई भावी अध्यक्षको रुपमा हेरिन्छ । अध्यक्षको पाइपलाइनका रुपमा वरिष्ठ उपाध्यक्ष रहने भएकाले पनि यो पदलाई नेकपा एमालेभित्र निकै महत्वका साथ लिइन्छ । 

वरिष्ठ उपाध्यक्षमा दुवैले दाबी पेस गरेसँगै ओलीले पनि कसलाई वरिष्ठ उपाध्यक्ष पदमा ल्याउने भन्ने यकिन गर्न सकेका छैनन् । 

मर्कामा ओली

वरिष्ठ उपाध्यक्षमा नेम्वाङ र पोखरेलले दाबी गर्ने संकेत आएसँगै अध्यक्ष ओली सकसमा छन् । संगठनमा यी व्यक्तित्वको भूमिका र कार्यशैलीका कारण प्रभावित बनेका ओली महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा कसलाई ल्याउने भनेर सकसमा परेका हुन् ।

नेतृत्वका लागि सांगठनिक अब्बलता र सही मार्गदर्शन आवश्कय हुन्छ भन्ने बुझेका ओली व्यक्तिगत रुपमा दुवैलाई मिलाएर लैजान चाहन्छन् । तर, एकै पदमा दुवैले दाबी गर्ने संकेत गरेसँगै ओलीको सो चाहना अपुरो हुने संकेत देखिएको छ। स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षको विषयमा ओली मौन छन् ।

ओलीसँग को नजिक र?
नेम्वाङ र पोखरेल वा अरु कोही कोसँग नजिक भन्ने कुराको कुनै ग्रेड छुट्याइएको छैन । यद्यपि नेकपा एमालेभित्र मुद्दा उठान र सो मुद्दाको समर्थन वा विरोधका आधारमा नजिक वा टाढाको भन्ने कुराको निर्धारण हुँदै आएको छ । विगत केही वर्षदेखि नेम्वाङ र पोखरेल मुद्दा उठान, समर्थन वा विरोधका हिसाबले निरन्तर ओली निकट छन् ।

जुन कुरा २०७२ सालपश्चात् यी दुईले ओलीका मुद्दालाई समर्थन गर्ने ठाउँमा समर्थन र विरोध गर्ने ठाउँमा विरोध गरेका छन् । त्यसैगरी, ओलीले पनि यी दुवैलाई संरक्षण गर्ने ठाउँमा संरक्षण गर्दै आएका छन् ।

एमालेभित्र नेम्वाङ सैद्धान्तिक र कानुनविद् , समस्याको निकास दिन ल्याकत भएका शालीन र भद्र व्यक्तित्वका रुपमा परिचित छन् भने अर्का प्रत्यासी पोखरेल पार्टीभित्र सांगठिनक रुपमा अब्बल छन् ।

राजनीतिक निकटताका हिसाबले ओलीसँग नेम्वाङ रहे पनि सांगठनिक हिसाबमा पोखरेल निकट छन् । दुवै आ-आफ्नो क्षेत्रमा अब्बल व्यक्तित्वका रुपमा चिनिने भएकाले पनि वरिष्ठ उपाध्यक्ष चयनलाई महत्वका साथ हेरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.