राप्रपा महाधिवेशन : राजतन्त्र फर्काउने प्रयत्न

काठमाडौँ । अहिले नेपालका प्रायः सबै दललाई महाधिवेशनको चटारो छ । यतिबेला सबै पार्टीको सदस्य वा पदाधिकारीहरु आ–आफ्नै काममा व्यस्त छन् ।

सत्ताधारी नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमाले मात्रै हैन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्तालाई पनि महाधिवेशनको चटारो छ ।

फुटको लामो शृङ्खला पार गरेर एकीकृत भएको राप्रपामा अहिले तीन अध्यक्ष छन्, कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी । अबको एकता महाधिवेशनबाट अध्यक्षमा एक जना मात्र निर्वाचित हुने विधानमा व्यवस्था छ ।

महाधिवेशन प्रतिनिधि 

राप्रपा महाधिवेशनमा लागि प्रत्येक प्रदेश सभाको निर्वाचन क्षेत्रबाट ३ खुला, ३ महिला, १ दलित र २ जनजाति प्रतिनिधि गरी ९ जनाको प्रतिनिधित्व हुनेछ । यसरी आउने प्रतिनिधि संख्या २ हजार ९ सय ७९ हुनेछ ।

प्रत्येक पालिकाका सभापति ७ सय ५३ जना, प्रदेश सभाका सभापति ३ सय ३० जना, प्रतिनिधिसभा क्षेत्रका सभापति १ सय ६५ जना, जिल्ला सभापति ७७ जना, प्रदेश सभापति ७ जना पनि महाधिवेशनमा सहभागी हुनेछन् । केन्द्रीय सदस्य र मनोनित गरी करिब ५ हजार प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व छान्ने छन् ।

राप्रपाले वडा महाधिवेशन हुँदै जिल्ला, प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ । तर, भक्तपुर जिल्लाको भने अधिवेशन सम्पन्न भएको छैन ।

कस्ता छन्, प्रदेशस्तरीय नेतृत्व ?

प्रदेश नम्बर १ मा भएको निर्वाचनमा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा विजयी भएका छन् । गण्डकी प्रदेशमा मदनबहादुर कार्कीलाई हराएर हेमजङ्ग गुरुङ विजयी भएका छन् । लुम्बिनी प्रदेशमा ऋषिराज देवकोटालाई हराएर प्रदीपकुमार उदय निर्वाचित भएका छन् ।

२ नम्बरमा भरत गिरी, बागमती प्रदेशमा विक्रम बहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

को–को छन्, सभापतिका आकाङ्क्षी ?

राप्रपाले मङ्सिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्दैछ । पार्टी अध्यक्षमा पुराना र नयाँ पुस्ताबीच प्रतिस्पर्धा हुने सम्भावना छ । पुराना पुस्ताबाट पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापा उम्मेदवार छन् । नयाँ पुस्ताबाट राजेन्द्र लिङदेन र धवल शमशेर राणा आकाङ्क्षी देखिएका छन् ।

धवल शमशेर राणा भन्छन् मेरो अध्ययक्षमा उठ्ने प्रवल सम्भावना छ । म र राजेन्द्र लिङदेनमा एक जना युवा पुस्ताबाट उठ्छौं ।

नेतृत्वमा कसको सम्भावना कति ?

प्रदेश नं. १ मा विजय भएका सिटौला कमल थापा खेमाका हुन । प्रदेश २ कर्णाली र सुदूरपश्चिम प्रदेशका विजयी नेतृत्व मा पशुपति शमशेर खेमाका हुन् । उनको समूह यहाँ बलियो पेजिसनमा छ । गण्डकी प्रदेशमा नयाँ पुस्ता हावी भएको छ, भने बाँकी रहेका प्रदेशमा कमल थापाको पक्ष विजयी भएको देखिन्छ ।

नयाँ पुस्ता थापा पक्षधर भएकाले प्रदेशको अङ्क गणित हेर्दा कमल थापा विजयी हुने सम्भावना छ । तर, जिल्ला स्तरमा भने पशुपति शमशेर राणाको राम्रो पकट रहेकाले यसै भन्न सक्ने स्थिति छैन । प्रदेशको अङक गणितले थापा र जिल्लाको अङक गणितले शमशेरको सम्भावना देखिन्छ ।

प्रकाशचन्द्र लोहनी र नयाँ पुस्ता मिल्ने सम्भावना पनि छ, राप्रपाका एक नेता बताउँछन् । लोहनीले म पनि छोड्छु कमल र पशुपतिले नि छोडेर नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्छ भनेर बताउँदै आएका छन् । यी कुरालाई मध्यनजर गर्दै उनी भन्छन्, लोहनीको नयाँ पुस्तासँग साँठगाँठ रहेको छ । नयाँ पुस्ताले उनलाई सहयोग गर्छ, की भन्ने उनको आशा हो ।

के छ, अबको एजेण्डा ?

पार्टीको प्रतिवेदन तीन अध्यक्षहरुलाई लेख्न दिएको छ, आर्थिक पक्ष प्रकाशचन्द्र लोहनीले लेख्दै छन् भने राजनीतिक पक्ष पशुपति शमशेर जबराले लेख्दैछन् । सामाजिक र अन्य पक्ष कमल थापाले लेखिरहेका छन् । प्रतिवेदनमा के छ ? महाधिवेशन पछि नै खुल्ने छ ।

वर्तमान समयसम्म आइपुग्दा राप्रपाले तीन एजेण्डालाई आत्मसाथ गर्दै आएको छ । पार्टीको मुख्य एजेण्डा भनेको सनातन हिन्दू धर्म, संघीयता खारेजी र संवैधानिक राजसंस्था हो । ‘यो जनमत सङ्ग्रहद्वारा एकचोटि परीक्षण गरी हेरम् भन्ने हाम्रो धारणा हो ।’ राप्रपा नेता बताउँछन् ।

राणा भन्छन् हाम्रो एजेण्डा परिवर्तन भएको छैन । हामी हिन्दू धर्म र संवैधानिक राजसंस्था नै चाहन्छौं । अबको महाधिवेशनबाट हामी झन् सशक्त रुपमा प्रस्फुटन भएर अगाडि जाने कार्यक्रम साथ अगाडि बढछौं प्रवक्ता मोहन श्रेष्ठ भन्छन् ।

के अर्थ राख्छ, राप्रपाको महाधिवेशनले नेपाली राजनीतिमा ?

‘यो महाधिवेशनमा दोस्रो पुस्ता अगाडि आउने प्रयत्न भइरहेको छ । यदि त्यसो भयो भने हामी सबै राजावादी, हिन्दूवादीलाई एक ठाँउमा राखेर कम्युनिस्टविरुद्ध सामना गर्ने शक्ति निर्माण गर्नेछौं । यसले नेपाली राजनीतिमा हलचल ल्याउँछ नै ।’ धवलसिंह राणाले भने ।

नेपालको राष्ट्रिय राजनीतिमा एकमात्र वैचारिक प्रतिपक्ष्य र एकमात्र विकल्प भएको पार्टी राप्रपा नै हो, राप्रपाको प्रवक्ता मोहन श्रेष्ठ दावी गर्छन् । एउटा विकल्प दिने राजनीतिक शक्तिको रुपमा भएको पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा अर्थ त राख्छ, नै उनको ठम्याई छ ।

तर, राजनीतिक विश्लेषकहरुको भने राप्रपा परिमार्जन हुन नसकेको धारणा राखेका छन् । ‘गणतन्त्र सिध्याएर राजतन्त्रमा जाँदा धर्म निरपेक्षता उल्टयाएर हिन्दूत्वकरण गर्दा देशले अग्रगामी छलाङ मार्न त सक्दैन । त्यसैले यो बारेमा राप्रपाले सोच्नु पर्ने हो । देश एउटा दिशामा गइसक्यो त्यसैमा समायोजन हुँदा राम्रो हुन्छ ।’ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ टिप्पणी गर्छन् ।

अर्का राजनीतिक विश्लेषक अरुण कुमार भन्छन् राप्रपा कन्जरभेटिभ कित्ताको गुन्जायस भएको तर त्यो कित्तामा पाइला राख्न नसकिरहेको अवस्थामा छ । कन्जरभेटिभ कित्तामा जानलाई धर्म निरपेक्षताको खुलेर विरोध गर्नुपर्ने हुन्छ । पूँजीवाददेखि उदार अर्थ नीतिलाई अपनाउनु पर्छ । त्यसैले राप्रपाको यो महाधिवेशन नीति र नेतृत्व चयनका हिसाबले चुनौतिपूर्ण नै छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.