तथ्याङ्क विभागका अनुसार स्याटलाइटको भट्रिकल इमेज वा गुगलकोे माध्यमबाट अवलोकन गर्दा कालापानी क्षेत्रको गुञ्जीमा ९०, नाभीमा २८ र कुटीमा ४३ घरधुरी संख्या रहेको छ ।
काठमाडाैँ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ राष्ट्रिय जनगणना देशभर चलिरहेको छ । कातिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जारी रहने जनगणना संघीयता पछिको पहिलो हो । केन्द्रीय तथ्याङ्क विभागले पहिलो चरणको तथ्याङ्क रुजू गरिरहेको छ ।
नेपालमा १२ औँ जनगणको कार्य धमाधम चलिरहेको छ । तर, नेपाल र भारतको सीमामा रहेको भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भन्ने जनगणना हुने सम्भावना न्यून रहेको व्यास गाउँपालिका अध्यक्ष दिलिप बूढाथोकीले बताए ।
उनका अनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकमा लगभग २ सय बस्ती रहेका छन् । विगतदेखि नै उनीहरुले भारतीय नागरिकताको प्रमाणपत्र प्राप्त गरेकाले नेपाली भन्न रुचाउँदैनन् । राज्यबाट प्राप्त हुने सबै सेवा सुविधा भारतबाट नै उपभोग गरेको हुनाले उनीहरुले नेपाली भन्न नरुचाएको बुढाथोकीले बताए ।
नेपालको बाटो भएर कालापानी, लिपुलेक र लिम्पियाधुराको जनगणनाका लागि गणकहरु जाने कुनै सम्भावना नभएको व्याँस गाँउपालिका अध्यक्ष बताउँछन् ।
यहाँको जनगणना १९६८ सालमा पनि भएको छैन । त्यस बेला यो भूमि भारतीय नक्सामा रहेको हुनाले नेपालको तर्फबाट जनगणना गर्न नसकिएको गाँउपालिका अध्यक्षको भनाइ छ ।
इतिहासअनुसार यी ३ क्षेत्र नेपालको भुमी हुन् । तर, विवादमा रहेको भूमिको सीमा विवादको ठोस निर्णय दिन भारत मानिरहेको छैन । न त नेपालले नै कूटनैतिक माध्यमबाट वार्ता गरी समाधान गर्न सकिरहेको छ, जिल्ला प्रशासन कार्यालय दार्चुलाका कर्मचारी गोपाल सिंह बोहोराले भने ।
यस विषयमा अहिलेसम्म देउवा सरकारले केही बोल्न सकेको छैन । नक्सामा मात्र सीमित राखेर यसको कार्यान्वयन हुँदैन । यसकारण व्यास गाँउपालिकामा लामो समयदेखि बसोबास गर्दै आएका समुदाय भने मारमा परेका छन् । उनीहरुले हामी नेपाली कि भारतीय नागरिक भनेर सरकारलाई प्रश्न सोध्दै आएका छन् ।
दार्चुलामा १२ औँ जनगणनाका लागि खटिएका कर्मचारीहरुले त्यस क्षेत्रमा पुगेर जनगणना गर्न नसकिने बताएका छन् ।
नेपाल सरकारले २०७७ जेष्ठ ७ गते भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा सार्वजनिक गरेको थियो । नयाँ नक्साको क्षेत्रफल अनुसार नेपालको कूल क्षेत्रफल १ लाख , ४७ हजार, ५ सय, २६ वर्ग किलोमिटर रहेको छ ।
तथ्याङ्क विभागले कार्यस्थलमा पुगेर जनगणना गर्न असम्भव रहेको बताएको छ । भारत सरकारले यस क्षेत्रमा २४ घण्टा नै भारतीय सैनिक सीमा सुरक्षामा जोड दिँदै राखेको हुनाले यस क्षेत्रमा अनुमति विना जान समस्या भएको तथ्याङ्क विभागले जनाएको छ ।
तथ्याङ्क विभागका अनुसार स्याटलाइटको भट्रिकल इमेज वा गुगलकोे माध्यमबाट अवलोकन गर्दा कालापानी क्षेत्रको गुञ्जीमा ९०, नाभीमा २८ र कुटीमा ४३ घरधुरी संख्या रहेको छ ।