कातिकमा मात्र ५४ हजारले लिए श्रम स्वीकृति (भिडियो सहित)

काठमाडौंं । केही समय अघिदेखि राहादानी विभागमा अधिक भिडभाड बढेको छ । नयाँ राहादानी लिने, नवीकरण गर्ने, प्रहरी रिपोर्ट तथा कन्सुलरसम्बन्धी सेवा लिन आएका सेवाग्राहीका कारण राहदानी विभागमा भिडभाड बढेको हो ।

राहदानी विभागका अनुसार एक दिनमा ३५ सय जनासम्म सेवा लिन आउने गरेका छन् । तर, विभागले भने दैनिक ८ सय जनालाई मात्र राहादानी उपलब्ध गराउन पालो प्रणाली लागू गरेको छ ।

एमआरपी पासपोर्ट वितरणसँगै पालो प्रणाली लागू गरेको विभागमा असोज र कातिक महिनामा भने राहादानी लिनेको संख्यामा अधिक वृद्धि भएको विभागले जनाएको छ ।
करिब एक महिनाको समयावधिमा विभागबाट राहादानी २० हजार ८ सय जनाले लिएका छन् ।

यता राहादानी विभागमा भिड बढेसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिनेको संख्यामा पनि वृद्धि आएको छ ।

कोरोना भाइरसको संक्रमण घटेसँगै त्रिभुवन विमानस्थलमा भिडभाड बढ्न थालेको हो । वैदेशिक रोजगार, अध्ययन तथा घुमफिरका लागि विदेशिनेको संख्या बढ्न थालेको अध्यागमन विभागले जनाएको छ ।

एक महिनामा ७८ हजार नेपाली बाहिरिए

विभागका अनुसार गत कातिक महिनामा मात्रै नेपालबाट ७८ हजार ४ सय ८० नेपाली बाहिरिएका छन् । कोरोना भाइरसका कारण प्रवेशमा रोक लगाएका देशले प्रवेश फुकुवा गरेसँगै विदेशिनेको संख्यामा वृद्धि आएको अध्ययागमन विभागका सूचना अधिकारी झंकनाथ ढकालको भनाई छ ।

यो समय चाडबाडको माहोल भएका कारण देश छाड्नेसँगै देश भित्रिनेको संख्यासमेत उल्लेख्य देखिएको छ । सोही अवधिमा ८६ हजार ५ सय ६७ जना नेपाली नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागको तथ्याङ्क अनुसार दैनिक २ हजार ६ सय १६ नेपालीले स्वदेश छाड्ने गरेका छन् । जसमध्ये करिब १२ सय भने रोजगारीका लागि विदेशिने गरेका छन् । कोभिड–१९ सुरु हुन ुअघि मासिक ४० हजारभन्दा बढी नेपाली श्रमिक रोजगारीका लागि बाहिरिने गरेका थिए ।

कातिक महिनामा ५४ हजारले लिए श्रम स्वीकृति

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका लागि गत कातिक महिनामा मात्रै ५४ हजार ९ सय १८ जनाले श्रम अनुमति लिएका थिए । असोज महिनामा भने विदेशिनेको संख्या ४० हजार बराबर थियो ।

कोभिड–१९ संक्रमणमा कमी आएपछि वैदेशिक रोजगारीका लागि नेपाल छाड्नेको संख्यामा वृद्धि भएको छ ।

कातिक महिनामा सबैभन्दा बढी कतार जानका लागि १९ हजार ८१ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये ६ सय ५० जना महिला रहेका छन् ।

साउदी अरब जानका लागि १७ हजार ९ जनाले श्रम स्वीकृति लिएका छन् । सोही अवधिमा युएई जानका लागि १३ हजार ५ सय ५० जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरु विशेषत साउदी अरब, कतारलगायत खाडी मुलुकमा जाने गरेका छन् । नेपालमा कोरोना संक्रमण उच्च भएपछि युएई लगायतका देशले नेपाली श्रमिकको आगमनमा रोक लगाएका थिए ।

लामो समयपछि खाडी मुलुक खुलेसँगै श्रम अनुमति लिनेको संख्यामा वृद्धि आएको छ । विभागको तथ्याङकलाई हेर्ने हो, भने साउदी अरब, कतार, युएई जाने नेपालीको संख्या अधिक रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.