काठमाडौँ । नेकपा एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा तीन जनाले महासचिवमा दावी प्रस्तुत गर्ने सम्भावना बढेको छ । नेताहरुले महाधिवेशनको पूर्वसन्ध्यामा आफूलाई व्यस्त बनाउँदै विभिन्न कार्यक्रमहरुमा उनीहरुले दिएको धारणा अनुसार नेता शंकर पोखरेल, नेता विष्णु पौडेल र सुरेन्द्र पाण्डेले महासचिवमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्ने सम्भावना बलियो छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नै फेरि अध्यक्ष हुने लगभग सुनिश्चित भइसकेका कारण नेकपा एमालेको १० औं महाधिवेशनमा नेतृत्व चयनमा खासै त्यति चर्चा त छैन । तर पदीय हिसाबले देखिएको केही अनुहारहरुमा प्रतिस्पर्धा हुने सम्भावना भने प्रबल छ ।
यो पटक महाधिवेशनले नयाँ सन्देश प्रवाह गर्न खोजेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । उनी स्वयम् आफूले सचिवमा नै दोहोरिने धारणा सार्वजनिक गरेका छन् । एमालेले स्थानीय तहदेखि प्रतिनिधि चयनसम्म सर्वसम्मत प्रक्रियालाई अबलम्बन गरेको छ । यसैले महाधिवेशनलाई पनि सकेसम्म सर्वसम्मत रुपमै प्रस्तुत गर्ने चूनौति छ ।
एमालेले अधिकांश पदमा सर्वसम्मत पदाधिकारी चयन गर्ने तयारी थालेको छ । यसले नेपालीको राजनीतिमा देखिएको गुटबन्दीलाई अन्त्य गर्न एउटा सन्देश प्रवाह गर्नेछ । तर, त्यसमा एमाले सफल हुनेछन् या हुनेछैन भन्ने अर्को प्रश्न बाँकी नै छ ।
नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुमा को–को नेताहरुको सम्भावना रहने भन्ने चर्चा चलेकै बीचमा महासचिवका लागि तीन जना नेताको चर्चा शुरु भएको छ । जुसमा एमालेभित्र पनि ओली निकट रहेका विष्णु पौडेल र शंकर पाखरेल छन् । दुबै लुम्बिनी प्रदेशबाटै प्रतिनिधित्व गर्छन् ।
यस्तै चितवनबाट प्रतिनिधित्व गर्ने सुरेन्द्र पाण्डे महासचिवको लागि स्वभाविक उम्मेद्वार हुन् । एमालेको ९ औं महाधिवेशनमा पाण्डे झिनो मतले ईश्वर पोखरेलसँग पराजित भएका थिए ।
नेकपा एमालेमा अध्यक्ष पछिको शक्तिशाली कार्यकारी पद महासचिव भएका कारण पनि यो पदलाई विशेष रुपमा हेरिएको छ । अबको महासचिव ११ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको रुपमा प्रस्तुत हुने आधार धेरै छ। उपाध्यक्षमा रहने पदाधिकारीको उमेर हद एउटा बलियो आधार हो ।
महाधिवेशन आउन ६ दिन बाँकी रहँदासम्म महासचिवमा कसैले पनि औपचारिक रूपमा दाबेदारी पेस गरेका छैनन् । एमालेको अहिलेको आन्तरिक शक्ति सन्तुलन र नेताहरूको विगतलाई हेर्दा महासचिवमा तीन नेता प्रमुख दाबेदारको रुपमा रहने सम्भावना छ ।
हालका उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यद्वय सुरेन्द्र पाण्डे र शंकर पोखरेलले निकटस्थमार्फत महासचिवको प्रमुख दाबेदारका रूपमा आफूलाई उभ्याएका छन् ।
एकातिर, सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको योजना र अर्कातिर कोर टिमभित्रै छलफल नभइसकेकाले महासचिवका दाबेदार नेताहरू पनि सार्वजनिक रूपमै आकांक्षा प्रकट गर्न हच्किएका छन् । तर, सर्वसम्मत निर्वाचित गराउने ओलीको चाहना छ ।
शंकर पोखरेल, स्थायी कमिटी सदस्य, एमाले
एमालेको सम्भावित महासचिवबारे राजनीतिक वृत्तमा चासो रहँदा महाधिवेशनको लोगोमा स्थायी कमिटी सदस्य शंकर पोखरेलको फोटो राखेर महासचिवको उम्मेदवारका रुपमा प्रचार गरिएकोले एमाले पंक्तिमा तरंग ल्याएको छ ।
पोखरेलकै योजनामा उनी निकटस्थहरुले उक्त प्रचार गरेको एमाले नेताहरुको बुझाइ छ । केही नेताले त उम्मेदवारीबारे पोखरेलसँग जिज्ञासासमेत राखेको बुझिएको छ । तर, पोखरेल भने यसबारे आफूलाई केही जानकारी नभएको भन्दै पन्छिएका छन् ।
पोखरेलले सोचविचार गरेरै उक्त फोटो सार्वजनिक गर्न लगाएको एक थरिको दाबी छ । एक नेताका अनुसार कार्यकर्ताको मनोविज्ञान बुझ्ने र ओलीमाथि दबाब बढाउने उपायस्वरुप उनी निकटस्थले यस्तो चलाखी गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
पोखरेल ओलीका खास विश्वास पात्र समेत हुन् । वैचारिक नेताको परिचय समेत बनाएका पोखरेल लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पनि हुन् । पोखरेलको राजनीतिक भूगोल दाङ हो ।
उनले एमाले विभाजन हुन नदिन सक्रिय भूमिका निभाएका थिए । अन्तरपार्टी सम्बन्ध समेत बलियो बनाएका पोखरेलले अध्यक्ष ओलीलाई कठिन घडीमा समेत साथ दिएकाले ओलीले उनलाई नै महासचिवमा अगाडि ल्याउने अनुमान छ ।
पोखरेललाई एमालेको भविष्यमा नेतृत्व लिनसक्ने नेताका रुपमा पनि हेरिएको छ । तर, आफ्नो व्यक्तिगत गुट र पकड मजबुत बनाउन नसक्नु उनको कमजोरी हो । व्यवहारिकभन्दा सैद्धान्तिक राजनीतिमा बढी भर पर्दा उनलाई केही चुनौति भने छ ।
विष्णु पौडेल, उपमहासचिव, एमाले
ओलीको अर्का विश्वासपात्र हुन्, विष्णु पौडेल । पोखरेललाई ब्याक हटाएर ओलीले महासचिवमा पौडेललाई ल्याउन सक्ने पनि अनुमान छ । किन कि नेकपा जस्तो विशाल पार्टीको महासचिव चलाइसकेका र सांगठनिक पकड बलियो बनाएका कारण ओलीको रोजाइमा पौडेल पनि रहेका छन् ।
राष्ट्रिय राजनीतिमा स्थापित भइसकेका र फरक राजनीतिक कित्ताका मान्छेलाई समेत सहजै समन्वय गर्न सक्ने खुबीका कारण पनि पौडेलले ओलीको मन जितेको धेरै एमाले नेताहरुको बुझाइ छ ।
पार्टीको बलियो जनाधार रहेको लुम्बिनीबाट नेतृत्वमा उदाउँदै गएका पौडेल सांगठनिक क्षमतामा अब्बल र पार्टी नेतृत्वदेखि कार्यकर्तासम्मलाई छिटै प्रभावमा पार्न सक्ने नेताका रूपमा परिचित छन् ।
सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य, एमाले
अर्का दाबेदारीको आकांक्षी हुन् सुरेन्द्र पाण्डे । पाण्डेले पनि दशौँ महाधिवेशनमा आफूलाई महासचिवकै बलियो उम्मेदवारका रूपमा उभ्याएका छन् । पाण्डे दोस्रो पटक उम्मेदवार बनेका हुन्। उनी ईश्वर पोखरेललाई नवौँ महाधिवेशनमा कडा चुनौति दिँदै ६ मतको झिनो अन्तरमा पराजित भएका थिए ।
अहिलेको अवस्थामा मुलुक र पार्टी दुवैतिर ओलीको नेतृत्व निर्विकल्प रहेको बताएर महाधिवेशन नजिकिँदै गर्दा पाण्डेले भावी नेतृत्व स्विकार्दै अध्यक्ष ओलीको विश्वास जित्ने कोशिससमेत गरिरहेका छन् । सर्वसम्मत नेतृत्व चयन हुँदा आफूसहित अरू नेताहरूको पनि उचित मूल्यांकन हुने विश्वास पाण्डेको छ ।
नवौँ महाधिवेशनमा महासचिवको उम्मेदवार बनिसकेकाले यस पटक त्यसभन्दा तल उम्मेदवार नबन्ने पाण्डेको भनाइ छ । दशबुँदे सहमतिमार्फत पार्टी एकताको पक्षमा उभिएका पाण्डेले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको महासचिव पदको ‘अफर’ अस्वीकार गरेका थिए ।
तत्कालीन वरिष्ठ नेता नेपालसहितका सांसदहरूको एउटा समूहले संसद् बहिष्कार गर्दा पाण्डेले ओलीलाई विश्वासको मत दिनुपर्ने अडान राखेका थिए । उनी ओलीका विरुद्ध राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउन पनि गएनन् भने सर्वोच्च अदालतमा समेत हस्ताक्षर गरेनन् ।
अन्तिमसम्म पार्टी एकताकै लागि क्रियाशील रहेको, उनकै गृहजिल्ला चितवनमै महाधिवेशन हुन लागिरहेका बेला पाण्डेलाई महासचिव बनाउँदा विभाजित पार्टी कमजोर बन्न सक्ने पनि एमालेकै ठूलो पंक्तिको विश्लेषण छ ।
वरिष्ठ उपाध्यक्षमा सुवास चन्द्र नेम्वाङ र ईश्वर पोखरेल चर्चामा छन् । यस्तै उपाध्यक्षमा राम बहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, भिम रावल, घनश्याम भुषाललगायत चर्चामा छन् ।
विष्णु पौडेल, सुरेन्द्र पाण्डे र शंकर पोखरेलबाहेक उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको पनि महासचिवका रूपमा चर्चा छ । तर, पौडेल, पोखरेल र पाण्डेमध्ये एकजना नै महासचिव बन्ने बढी सम्भावना छ।
आफू निकटहरुसँगको भेलामा चाहिँ भुसालले शंकर पोखरेल महासचिवको उम्मेदवार भए आफूपछि हट्ने संकेत गरेका छन् । पौडेल र पाण्डे उठेको खण्डमा आफूले पनि उम्मेदवारी दिने भुसालको भनाइ छ ।
तर, महाधिवेशनको दिन अध्यक्ष ओलीले जसलाई बनाउन चाहन्छन्, महासचिव पनि उही बन्ने निश्चितजस्तै देखिन्छ । त्यसैले पनि कसैले खुलेर आफ्ना चाहना प्रकट नगरेका हुन सक्ने देखिन्छ ।