खड्क सुनार
मुगु । मुगुमा नेकपा एमालेबाट निर्वाचित २८ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
एमालेका सोरु गाउँपालिका उपाध्यक्ष राज्यलक्ष्मी बम मल्ल, जिल्ला समन्वय समितिका सदस्यसहित २६ जना जनप्रतिनिधिले नेकपा (एस)मा सनाखत गरेका हुन् ।
छायानाथ रारा नगरपालिकाबाट वडा अध्यक्ष एक जना, दलित महिला सदस्य दुई जना, वडा सदस्य एक जना, महिला सदस्य एक जना र नगर कार्यपालिका सदस्य एक जना गरी ६ जनाले नेकपा (एस) रोजेका छन् ।
यस्तै, सोरु गाउँपालिकामा उपाध्यक्ष एक जना, वडा अध्यक्ष पाँच जना, वडा सदस्य ६ जना, महिला वडा सदस्य तीन जना, दलित महिला वडा सदस्य चार जना र गाउँ कार्यपालिका सदस्य जना गरी २१ जनाले एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय मुगुका निमित्त निर्वाचन अधिकृत धनकृष्ण बढुवालले जानकारी दिए ।
उनका अनुसार एक जना जिल्ला समन्वय समितिका सदस्यले पनि नेकपा (एस)मा सनाखत गरेका छन् । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई अर्को दलमा सनाखत गर्ने वा स्वतन्त्र बस्छु भनी सनाखत गर्ने जनप्रतिनिधिको नाम, जिम्मेवारीलगायत अन्य विवरण सार्वजानिक नगर्न निर्देशन दिएबमोजिम जनप्रतिनिधिको नाम सार्वजनिक नगरिएको बढुवालले बताए ।
उनले मुगुमा जम्मा १२५ जना एमालेका जनप्रतिनिधमध्ये २८ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् ।
उता, प्रदेशसभा क्षेत्र नम्बर 'ख'का सदस्य चन्द्रबहादुर शाही र संघीय संसद प्रतिनिधिसभाका सदस्य गोपाल बमले पनि एमाले छाडेर एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन् ।