काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली नै अध्यक्षमा दोहोरिने लगभग पक्का छ । तर, एमालेभित्र अध्यक्ष ओली पछि नयाँ नेतृत्वका लागि उपाध्यक्ष भीम रावल र नेता घनश्याम भुषालको तर्फबाट उम्मेद्वार रहने चर्चा पनि छ ।
उपाध्यक्ष रावल एमालेमा १० बुँदे कार्यान्वयनसँगै फरक मतसहित अघि बढिरहेका छन् । एमालेका १० बुँदे कार्यान्वयन जस्ताको तस्तै लागू नभएको गुनासो उनले निरन्तर राखिरहेका छन् । एमालेको सुदूरपश्चिम ईन्चार्जको जिम्मेवारीबाट नेता रावललाई हटाइएपछि उनी असन्तुष्ट छन् ।
उनी सहभागी कार्यक्रमहरुमा नयाँ नेतृत्व आवश्यक रहेको उनको धारणा सार्वजनिक भइरहको छ । १० बुँदे कार्यान्वयनसँगै फर्केका १० नेतामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता सुरेन्द्र पाण्डे र योगेश भट्टराईले अबको एक कार्यकाल अध्यक्ष ओली नै एमालेको नेतृत्वमा रहनेमा सकरात्मक छन् ।
तर, रावल भने नेता घनश्याम भुषालसँगको सहकार्यमा अध्यक्षमा उम्मेद्वारी दिने तयारीमा जुटेका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर एमालेभित्र आफ्नो फरक मत रहेको भन्दै उम्मेद्वारी दिने तयारी गरेका छन् ।
रावलले अध्यक्ष ओलिसँग अध्यक्ष पदमा उम्मेद्वारी दिँदा रावलको पक्षमा शक्ति संघर्ष कति रहन्छ भने अर्को पक्ष बाँकी नै छ । १० बँदे कार्यान्वयनसँगै फर्केका नेताहरु नै भिम रावलको पक्षमा उभिएका छैनन् । यस्तो अवस्थामा नेता रावललाई पक्कै चूनौति त छ नै । तर, पनि रावलले महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने हुँदा आफूले अध्यक्षमा उम्मेद्वारी दिने सम्भावना रहेको बताउँदै आएका छन् ।
अध्यक्षबाहेक नेता रावलले अरु पदमा उम्मेद्वारी दिने खासै चर्चा छैन । किन कि उनी हाल उपाध्यक्ष छन् । उनी उपाध्यक्षमा नदोहोरिने भएपछि उनले बरिष्ठ उपाध्यक्ष र अध्यक्षमा उम्मेद्वारी दिनुपर्ने हुन्छ । वरिष्ठ उपाध्यक्षमा नेता सुवास नेम्वाङ र महासचिव रहेका ईश्वर पोखरेलले उम्मेद्वारी दिने सम्भावना छ ।
यदि नेता रावलले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिए प्रतिस्पर्धा बलियो हुने देखिन्छ । तर रावलले अध्यक्षमा उम्मेद्वारी दिए उनको उम्मेद्वारी कमजोर हुन सक्ने अनुमान एमाले वृत्तमा छ । १० बुँदे कार्यान्वयनको पक्षमा उनी असन्तुष्ट हुनु नै अध्यक्षमा उनको उम्मेद्वारी हुन सक्ने एक मात्र आधार हो । अन्यथा रावलले अध्यक्षमा उम्मेद्वारी दिने अरु बलियो आधार छैन ।
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ । अध्यक्षमा उम्म्देवारी घोषणा नहुँदा महाधिवेशनको चर्चा त्यो किसिमले भएको छैन । स्थानीय तहदेखि प्रतिनिधि चयनसम्म सर्वसहमतिको आधारमा रहेको एमालेले अधिकांश पदमा निर्विरोध नेतृत्व चयन गर्ने तयारी थालेका छन् । त्यसैमा नेता रावलको उम्मेद्वारीलाई विशेष रुपमा हेरिएको छ ।
उनको उम्मेद्वारीसँगै एमाले महाधिवेशनको चर्चा सोही पक्षलाई आधार बनाएर शुरु हुनेछ । अन्यथा एमालेको नयाँ नेतृत्व अध्यक्ष ओलीकै निरन्तरतामा अघि बढ्नेछ ।