खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा पालिका अधिवेशनमा चुनाव लडेका दुई प्यानल जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा एक ठाउँमा उभिएका छन् ।
गत ९ असोजमा भएको कांग्रेसको पालिका अधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट लडेका सुशील राई (अमित) र कृष्ण सिटौला प्यानलबाट लडेका बाजिन्द्र बिष्टको समूह जिल्ला अधिवेशनमा एक भएका हुन् ।
देउवानिकट सभापतिका आकांक्षी पूर्वराज्यमन्त्री सर्वधन राई र सिटौलानिकट महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईबीच जिल्ला अधिवेशनमा संयुक्त प्यानल बनाएर चुनाव लड्ने सहमति भएसँगै गाउँपालिकाको दुई प्यानल एक भएका हुन् ।
हालसम्म जिल्ला सभापतिमा दाबी गर्दै आएका महाधिवेशन प्रतिनिधि भूपेन्द्रले जिल्ला अधिवेशनको अघिल्लो दिन पूर्वराज्यमन्त्री सर्वधनलाई सभापतिमा समर्थन गर्ने सहमति गरेका हुन् ।
कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्ट, सभापतिमा पराजित सुशील राई (अमित) , कांग्रेस नेता खेम खड्का, देवराज बस्नेत, देवेन्द्र बस्नेत, प्रेमबहादुर बस्नेत, नृपबहादुर चौलागाईंलगायतले दिक्तेलको त्रिवेणीचोकमा सामूहिक तस्बिर खिचाएर दुई प्यानल एक भएको सन्देश दिएका छन् । पालिका अधिवेशनमा बिष्टले ५५ मत र राईले ३४ मत ल्याएका थिए । सो गाउँपालिकामा १०१ जना क्षेत्रीय प्रतिनिधि छन् ।
नेता खड्का र नेपाल प्रेस युनियन खोटाङका सभापति उत्तम चौंलागाईं दुई प्यानलबीचमा हारजीतको तुष मेटाउँदै जिल्ला अधिवेशनदेखि आगामी स्थानीय तह लगायतका निर्वाचनमा एक भएर जाने सहमति गराएका हुन् ।
‘पालिका अधिवेशनमा नेता तथा कार्यकर्ता दुईवटा फरक टिममा विभाजित थियो । जिल्ला अधिवेशनमा भने संयुक्त रूपमा जाने सहमति बनेको छ’, चौलागाईंले भने, ‘पार्टीलाई थप मजबुद बनाएर आगामी स्थानीय तहको चुनावमा प्रतिपक्षविरुद्ध लड्नसमेत सहज बनेको छ ।’
कांग्रेसको जिल्ला सभापतिमा पूर्वसभापति विष्णुकुमार राई र महासमिति सदस्य रविप्रकाश राई पनि अघि सरेका छन् । रामचन्द्र पौडेल निकट विष्णुकुमारलाई शेखर कोइराला टिमको समर्थन छ । रविप्रकाश देउवा निकट हुन् ।