काठमाडौं । निर्वाचन आयोगले जुनसुकै स्थानबाट पनि मतदाता नामावली संकलन गर्न सक्ने व्यवस्था गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै स्थानिय तहका केन्द्र तथा अन्य स्थानबाट समेत नामावली टिपाउन सकिने जनाएको हो ।
आयोगले यसअघि ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय तथा विभिन्न ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्य गर्दै आइरहेको थियो । गत वर्ष कोभिड १९ को महामारीका कारण नामावली संकलन कार्य स्थगित गरिएको थियो ।
आगामी निर्वाचनको मिति घोषणा हुनु अगावै मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिक मताधिकारबाट बञ्चित हुन नपरोस् भन्दै आयोगले ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय लगायत ६३७ वटा स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली संकलनको व्यवस्था गरिएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले तोकिएको स्थानहरुमा अभियान सञ्चालन गरि नामावली संकलन गर्ने जनाएको छ ।
मतदाता नामावली संकलन अभियान भने हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म, तराई, भित्री मधेश तथा उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ । यसका साथै काम विशेषले अन्यत्र जिल्लामा बसोबास गर्दै आएकाहरुले सोही स्थानबाट आफ्नो स्थाई ठेगाना उल्लेख गरि नामावली संकलनमा नाम समावेश गराउन सकिनेछ ।
आयोगको यो अभियान भने मंसिर १७ गतेबाट मात्रै सञ्चालनमा आउने आयोगले जनाएको छ ।