पाँचथर । निजामति सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय पाँचथरले कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ ।
छोरा भीमबहादुर तामाङको नागरिकताको प्रमाणपत्र बनाउन मंगलबार बिहान १० बजे जिल्ला प्रशासन पुगेका पहिलो सेवाग्राही जिल्लाको हिलिहाङ गाउँपालिका–१ का चन्द्रबहादुर तामाङलाई सम्मान गरिएको हो । प्रमुख जिल्ला अधिकारी एवं निजामति सेवा दिवस मूल समारोह समिति पाँचथरका संयोजक पुण्यप्रसाद ढकालले तामाङलाई खादा, माला र अविर लगाएर सम्मान गरेका हुन् ।
'सरकारी तथा सार्वजनिक निकायले सेवाग्राहीलाई सम्मानपूर्वक सेवा दिनुपर्छ भन्ने सन्देश दिन पहिलो सेवाग्राहीलाई सम्मान गरेका हौं', प्रजिअ ढकालले भने, 'सार्वजनिक निकायका लागि सेवाग्राही नै सबैकुरा हुन भन्ने कुरा बुझ्नु र बुझाउनु जरुरी छ ।'
यस अवसरमा प्रजिअ ढकालले कार्यालयमा आएका सेवाग्राहीलाई निजामति कर्मचारी तथा सेवाग्राहीको सुमधुर सम्बन्धले मात्रै सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुने भन्दै सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले सेवाग्राहीलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत कार्यले सार्वजनिक सेवा प्रवाहलाई चुस्त, गुणस्तरीय र नागरिकमैत्री बनाउन मद्दत पुग्ने धारणा राखेका थिए ।
सोही अवसरमा जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने कार्यालयका सवारी चालक सन्तोष राईलाई पुरस्कृत गरेको छ । जनसेवाश्री पदक पञ्चमबाट विभुषित कार्यालयलका कार्यालय सहयोगी वेदनिधि खनाललाई पनि प्रजिअ ढकालले विभुषण प्रदान गरेका छन् ।
निजामति सेवा दिवसका अवसरमा पाँचथरका पाँच जना कर्मचारीलाई पुरस्कृत गरिने निजामति सेवा दिवस मूल समारोह समितिले घोषणा गरेको छ ।
यसरी पुरस्कृत हुने कर्मचारीमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. इन्द्रनारायण शाह र विना काफ्ले, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सुरेश अधिकारी र जिल्ला हुलाक कार्यालय तथा जिल्ला कारागार कार्यालयका कार्यालय सहयोगीद्वय प्रमेश राई र महेश खनाल रहेका छन् । उत्कृष्ट कर्मचारी सम्मानका लागि छुट्टै कार्यक्रम गरिने समितिले जनाएको छ ।
