काठमाडौं । नेकपा (एमाले) ले क्लष्टरको आधारमा नेतृत्व चयन गर्ने भएको छ । सोमवार बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले १०औं राष्ट्रिय महाधिवेशनमा क्लष्टरमा नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको हो ।
असोजमा सम्पन्न प्रथम विधान महाधिवेशने एमालेको विधानलाई संशोधन गर्दै प्यानलबद्ध निर्वाचनलाई प्रतिबन्ध गरेको थियो । त्यसैको आधारमा एमालेले अबदेखिको महाधिवेशनमा प्यानलगतरूपमा प्रतिस्पर्धा नगर्ने निर्णय गरेको छ ।
एमालेको नयाँ विधानअनुसार २ सय २५ सदस्यीय केन्द्रीय कमिटीमा रहनेछ । त्यसको लागि विभिन्न ‘क्लष्टर’ का आधारमा प्रतिष्पर्धा हुनेछ । पदाधिकारी भने उममेद्वारीका आधारमा चयन हुने एमालेले जनाएको छ ।
केन्द्रीय कमिटीको सदस्यको क्लष्टरका लागि महिला, आदिवासी जनजाती, मधेशी, दलित, थारु, मुस्लिम, श्रमिक, पिछडिएको क्षेत्र र भौगोलिक क्षेत्र गरि ९ वटा भागमा विभाजन गरिएको छ ।
विभिन्न क्लष्टरबाट नेकपा एमालेको केन्द्रीय सदस्यमा ७३ जना महिलाको उपस्थिती विधानले अनिवार्य गरेको छ । जुन समावेशी क्षेत्रबाट ५७ र भौगोलिक क्षेत्रबाट १६ गरि ७३ हुनेछन् । त्यस्तै आदिवासी जनजातीबाट २२, मधेशीबाट १६, थारुबाट ६, मुस्लिमबाट ४, श्रमिकबाट ५ र पिछडिएको क्षेत्रबाट ३ केन्द्रीय सदस्य हुनेछन् ।
एमालेको १० औं महाधिवेशन चितवनमा यही मंसिर १० देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनले संशोधित विधान अनुसारको केन्द्रीय कमिटी चयन गर्नेछ ।