एनआरएनए निर्वाचन समिति तटस्थ, संरक्षक परिषद्लाई निर्वाचन गराउने जिम्मा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनलाई हस्तक्षेप गरेको परराष्ट्र मन्त्रालयले फेरि पनि अर्को हस्तक्षेप गरेको छ । कुनै पनि संघ संस्था वा संगठनको निर्वाचन निर्वाचन समितिले गराउने प्रावधान छ । तर परराष्ट्र मन्त्रालयले एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ ।

मन्त्रालयले एनआरएनएलाई मंसिर ३ गते पत्र लेख्दै चुनाव गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको जानकारी गराएको छ । निर्वाचन समितिलाई तटस्थ बनाउन मन्त्रालयले भुमिका खेलेको छ ।

विवाद समाधान गरी सन् २०२१ भित्रै संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्य विधानको धारा १६ बमोजिम गठित संरक्षक परिषद्मार्फत गर्न मन्त्रालयले निर्देशन गरेको हो ।

वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल पुरा भैसकेको उल्लेख गर्दै परराष्ट्रले पत्रमा संस्थालाई दूरगामी असर पर्ने कुनै पनि कार्य नगर्न र नगराउन समेत निर्देशन दिएको छ ।

संघको विधानको धारा १३.७ को खण्ड (ग) बमोजिम चयन हुने ६५ प्रतिशत प्रतिनिधिको सम्बन्धमा प्रचलित अभ्यासअनुसार वर्तमान राष्ट्रिय समन्वय परिषद्ले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिहरुलाई मान्यता दिने निर्णय समेत परराष्ट्रले गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काको उपस्थितीमा बसेको बैठकले तीन बुँदा कार्यान्वयन गर्न एनआरएनएलाई पत्र लेखेको हो ।

‘संघमा हाल देखिएका विवादको सर्वसम्मत निरुपण नभई गरिने निर्वाचनले विवादलाई अझ बढावा दिनुका साथै संघलाई गतिशिलता प्रदान गर्न र संघको उद्देश्य प्राप्तीमा समेत सहयोग पुग्दैन’ पत्रमा उल्लेख छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.