आजबाट संसदमा दुई दलको प्रवेश हुँदै
नवौँ अधिवेशन सुरु भएसँगै बुधबारबाट दुई नयाँ दल संघीय संसदमा प्रवेश गर्ने भएका छन् ।

काठमाडौं । नवौँ अधिवेशन सुरु भएसँगै बुधबारबाट दुई नयाँ दल संघीय संसद प्रवेश गरेका छन् । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले) र जसपा नेपाल विभाजित गराई दिएपछि संसदको बैठकमा दुई नयाँ पार्टीले प्रवेश पाउने भएका हुन् ।

नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा ( एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजित भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा) पार्टीले पहिलोपटक संसद्मा प्रवेश पाउन लागेका हुन् ।

‘दुई नयाँ पार्टी थपिएकाले संघीय संसद भवनमा सिट व्यवस्थापनको काम सम्पन्न भइसकेको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘एकीकृत समाजवादी सत्तापक्षतर्फ र लोसपा प्रतिपक्षमा बस्ने गरी व्यवस्था मिलाइएको छ ।’ उनका अनुसार सो सिट व्यवस्थापन दुवै नयाँ दलको आग्रह अनुसार नै गरिएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.