लमजुङमा खुल्न थाले विद्यालय, तर ६ असोजसम्म निषेधाज्ञा
कोरोना जोखिमबीच लमजुङमा सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अपनाउँदै भौतिक रूपमै पढाइ सुरु गरेका छन् ।

लमजुङ ।  कोरोना जोखिमबीच लमजुङमा सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अपनाउँदै भौतिक रूपमै पढाइ सुरु गरेका छन् । ग्रामीण विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि स्थानीय तहले भौतकि रुपमै पठनपाठन सुरु गरेका हुन्। 

बेसीसहर नगरपालिका, दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिकाका विद्यालयले एक सातादेखि भौतिक रुपमै पठनपाठन सुरु गरेका हुन् । जनविकास मावि बेसीसहरका प्रधानाध्यापक रत्नमान श्रेष्ठले एक सातादेखि स्कुलमा भौतिक रूपमा पठनपाठन सुरु गरिएको बताए । विद्यार्थी विद्यालय पोसाकबिनै मास्क लगाएर विद्यालय आउने गरेको उनको भनाइ छ । विद्यालयमा तीन सेसनमा पठनपाठन सञ्चालन गरेको श्रेष्ठले बताए ।

कोरोना संक्रमणको जोखिम र प्रभावको आधारमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको अवधारणालाई विद्यालयमा अभ्यास थालेको बेसीसहर नगरपालिका–२ स्थित बालकल्याण मावि भकुण्डेका प्रधानाध्यपक तीर्थराज न्यौपानेले बताए । सदरमुकाम बेसीसहर नगरपालिकाका केही विद्यालयमा भौतिक रूपमै कक्षा सञ्चालन गरिए पनि धेरै विद्यालयले भने अनलाइन कक्षा चलाइरहेका छन् । तर त्यो प्रभावकारी देखिएको छैन । लकडाउनपछि घर फर्केका विद्यार्थी पुनः स्कुलको सम्पर्कमा समेत नपुगेको बेसीसहर नगरपालिका–११ चितीकी अभिभावक शन्तकुमारी श्रेष्ठले बताइन् ।

जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयले यसअघि नै प्रत्यक्ष कक्षा सञ्चालन गरे पनि बजार क्षेत्रमा भने वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिने प्रयास गरिएको थियो । ग्रामीण क्षेत्रमा इन्टरनेटको सहज पहुँच नहुँदा वैकल्पिक माध्यमबाट पढाउन समस्या आएको दोर्दी गाउँपालिकाका प्रमुख ओमबहादुर गुरुङले बताए । उनले भने, ‘ग्रामीण क्षेत्रमा विद्यार्थीको संख्या पनि धेरै नभएकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर विद्यार्थीलाई भौतिक रूपमा विद्यालयमै उपस्थित गराएर पठनपाठनलाई निरन्तरता दिइएको हो ।’ ग्रामीण क्षेत्रका विद्यार्थीमा इन्टरनेटको पहुँच नहुँदा पनि अनलाइन कक्षा प्रभावकारी नभएको उनले बताए ।

प्रशासनले भने कोरोनाको जोखिम कायमै रहेको भन्दै ६ असोजसम्म  निषेधाज्ञा लम्ब्याएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिले भौतिक उपस्थितिमा गरिने शैक्षिक गतिविधिमा रोक लगाएको छ । तर स्थानीय तहले प्रशासनको निर्देशनलाई अवज्ञा गरी विद्यालय सञ्चालन हुन थालेका छन् । ‘कोरोना संक्रमणको जोखिम घटेको छैन,’ प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले भने, ‘स्थानीय तहले अधिकारको प्रयोग गर्दै विद्यालय खुलाएका छन् ।’ जिल्लामा तीन सय ४७ सामुदायिक र ३७ संस्थागत विद्यालय छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.