एमालले अध्यादेश र सभामुखको भूमिकालाई लिएर प्रश्न उठाउने
नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश र सभामुखको भूमिकालाई लिएर आपत्ति जनाउँदै आएको छ ।

काठमाडौंं । बुधबार अपराह्न सुरु हुने संघीय संसदको बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।

संघीय संसद् भवन,नयाँबानेश्वरमा सुरु संसदीय दलको बैठकले संसदमा एमालेको आगामी भूमिका र रणनीतिका बारेमा नीति तय गर्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘बदलिँदो परिस्थितिमा एमालेले संसदमा कसरी प्रस्तुत हुने ? भन्ने बारेमा छलफल हुनेछ,’ प्रमुख सचेतक भट्टराईले, ‘आजको बैठकको निर्णायानुसार संसदमा एमाले प्रस्तुत हुनेछ ।’ तर, उनले कसरी एमाले प्रस्तुत हुनेछ भन्ने बारेमा कुनै विषय खुलाएनन् ।

आठौँ अधिवेशन स्थगित गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सरकारले एमाले विभाजन गराएको तथा सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीका लागि सिफारिस गरेका माधवकुमार नेपाललगायत सांसद नहटाएकोप्रति एमालेले आपत्ति जनाउँदै आएको छ ।

‘राजनीतिक दलसम्बन्धी अध्यादेश र सभामुखको भूमिकालगायत बारेमा अध्यक्षज्यूबाट केही निर्देशन हुनसक्छ, बैठक जारी नै भएकाले ठोस निर्णय भइसकेको छैन,’ भट्टराईले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा दुई विषयमा शेरबहादुर देउवा नेतृत्वको सरकार र सभामुख सापकोटा दुवैप्रति रोस प्रकट गर्दै आएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.