काठमाडौँ । बागमती नदी सरसफाई अभियानले चार सय ४५ हप्ता पूरा गरिसकेको छ । फोहोरले भरिएर कुरुप बनेको बागमती नदिको मुहार फेर्न यो अभियानले ठूलो मद्दत गरेको छ ।
सरकारले सहरी विकास मन्त्रालयअन्तर्गत ‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति’ गठन गरी बागमती सफाई गर्दै आइरहेको छ ।
समितिले विगत २७ वर्षदेखि थालनी गरेको बागमती नदी ढल प्रशोधन कार्यलाई समेत तीव्रता दिएको समितिका अध्यक्ष उद्धव तिमल्सेनाको भनाई छ ।
उनका अनुसार हाल भक्तपुरको सल्लाघारी, टेकु दोभान, टुकुचा दोभान, सुन्दरीजल, गोकर्णेश्वर लगायतका स्थानमा बागमती नदीको ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी छ ।
गोकर्णेश्वरका लागि टेण्डर अभियान सम्पन्न भइसकेको छ, भने अन्य स्थानमा भने जग्गा अधिग्रहण गरी भौतिक संरचना निर्माण सुरु भएको छ ।
हाल समितिले गुह्येश्वरीस्थित प्रशोधन केन्द्रबाट बागमती नदीको ढल प्रशोधन कार्य गरिरहेको छ । करिब एक सय रोपनीमा फैलिएको जग्गामा प्रशोधन सञ्चालन भइरहेको छ ।
अध्यक्ष तिमल्सेनाका अनुसार गुह्येश्रीमा हाल ३२ केबीको प्रशोधन मेसिन जडान गरिएको छ । जसबाट बौद्धदेखि गुह्येश्वरीसम्मको ढलको पानी प्रशोधन गर्ने कार्य भइरहेको छ ।
उनका अनुसार प्रशोधित भई आएको पानीलाई बागमतीमै छाडिएको छ भने प्रशोधनबाट निस्किएको फोहोरलाई मलको रुपमा बजार पुर्याउने तयारीमा रहेको छ ।
यो वर्ष गोकर्णेश्वरदेखि पशुपतिसम्मको बागमती नदीलाई ढल, फोहोर मुक्त बनाउने योजना रहेको उनी बताउँछन् ।
बागमती नदीले काठमाडौं उपत्यकाको थुप्रै भाग ओगटेको भएको हुँदा एकै पटक सबै क्षेत्रलाई ढल मुक्त बनाउन सम्भव छैन । तसर्थ समितिले विभिन्न स्थानमा प्रशोधन केन्द्र स्थापना गरी ढल प्रशोधन गर्ने योजना अघि बढाइएको उनको भनाई छ ।
समितिले अघि बढाइएको यस योजनाका लागि भने नेपाल सरकारबाट प्रत्येक वर्ष ३ अर्व रुपैयाँ बजेट विनियोजन हुने गरेको छ ।
योजनाका लागि ठूलो रकमको आवश्यक पर्ने हुँदा नेपाल सरकारले छुट्याइएको रकमसँगै सहयोगी दातृ निकायबाट समेत सहयोग लिँदै आइरहेको समितिले जनाएको छ ।
हाल गुह्येश्वरीमा सञ्चालित प्रशोधन केन्द्र भने एसियाली विकास बैंक (एडीबी) र आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) को मातहतमा सञ्चालन भइरहेको छ ।
अध्यक्ष तिमल्सिनाका अनुसार बागमती सफाइमा सुकुम्बासी बस्तीले समस्या दिँदै आएको छ । ‘बागमती किनाराबाट वस्ती नहटाएसम्म बागमती सफा हुने सम्भावना एकदमै न्यून रहेको छ । सुकुम्बासी बस्तीलाई अन्यत्र स्थानान्तरण गर्न आवश्यक छ ।’ समितिले बागमती किनारामा उद्यान निर्माण, विश्राम स्थल, करिडोर निर्माण लगायतका कार्य गर्दै आइरहेको छ ।
बागमतीमा फोहोर, ढल विसर्जन कार्य नरोकिएसम्म बागमती सफा हुने सम्भावना छैन । बागमती पूर्ण रुपमा सफा नभए तापनि अबको ५ वर्षमा नदीको मुहार फेरिने गरी काम गर्ने समितिको योजना रहेको तिमल्सिना बताउँछन् ।
बागमतीसँगै काठमाडौंभित्र रहेको अन्य मनोहारा, विष्णुमती, धोवीखोलामा पनि ढल प्रशोधनको आवश्यकता रहेको छ ।