काङ्ग्रेसको १४ औँ महाधिवेशनले जो कसैलाई निर्वाचित गरेपनि त्यो खास काङ्ग्रेसीलाई फरक पर्नेवाला छैन । जसले जितेपनि काङ्ग्रेसीले नै जित्नेछ । तर, काङ्ग्रेसको महाधिवेशनले त्यसलाई फरक पार्न सक्नु पर्छ, जसको दैनिकी ज्यालादारी गरेर जीवन निर्वाहमा बितिरहेको छ ।
काठमाडाैँ । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिले वडा, पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने क्रममा छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सकिएपछि काङ्ग्रेसले जिल्ला अधिवेशन सम्पन्न गर्नेछ ।
नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । उम्मेदवारी घोषणामा यो पटक युवा अनुहारको बाहुल्यता देखिने भएको छ ।
केन्द्रीय पदाधिकारीअन्तर्गत अहिले सभापतिमा शेरबहादुर देउवा, शशांक कोइराला र प्रकाशमान सिंहको चर्चा चुलिएको छ । चर्चा चुलिनेमा वर्तमान उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांका काेइराला पनि छन् ।
काङ्ग्रेस सभापतिमा रामचन्द्र पौडेलकाे उम्मेदवारीलाई अस्वाभाविक भन्न नमिल्ने अवस्था पनि छ । किन कि उनी १३ औँ महाधिवेशनमा सभापतिका उम्मदवार हुन् ।
शेरबहादुर देउवा अहिले देशका प्रधानमन्त्री छन् । शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा नै महाधिवेशन सम्पन्न गर्ने दाउमा देखिन्छन् ।
देउवालाई प्रत्यक्ष वा परोक्ष रुपमा प्रधानमन्त्रीको शक्तिले महाधिवेशनमा पुनः सभापति दोहोयाउन सजिलो हुनेछ । यस्तो अनुमान अस्वाभाविक हुँदैन ।
शेरबहादुर देउवाको यो प्रधानमन्त्री कार्याकाल पाँचौँ हो । उनी यस्ता पात्रमा पर्छन् जलाई प्रधानमन्त्री पद बारम्बार हात लागिरहन्छ । उनले यो पटकको मन्त्रीपरिषद् विस्तारमा पनि महाधिवेशनलाई केन्द्रमा राखेर आफ्नो गुटका नेताहरुलाई नै मन्त्री बनाएका छन् ।
आफ्नो गुटमा खुलेर नलागेका तर सहयोग गर्न सक्ने नेताहरुलाई पनि उनले मन्त्री बनाएकाे बुझिन्छ। उनको यो रणनीति महाधिवेशन केन्द्रित रहेको धेरैको बुझाई छ ।
देउवाको समूह देशभर बलियो छ । उनलाई आफ्नो समूह बलियो बनाउन सत्ताको सहयोग पनि पुगेको छ । जुन सुविधा पौडेल–कोइराला समूहलाई छैन । त्यसैले पनि पौडेल–कोइराला समूह कमजोर बन्न पुगेको हो ।
नेपाली काङ्ग्रेसमा कोइराला परिवारको लामो विरासत रहेको छ । वीपी कोइराला काङ्ग्रेसको संस्थापक नेता हुन् । स्थापना कालमा मातृका प्रसाद कोइरालको पनि महत्वपूर्ण भूमिका थियो । कोइराला परिवारले मोहनत गरेर बनाएको पार्टीको रुपमा काङ्ग्रेसलाई बुझ्ने जमात पनि नेपालमा धेरै छ ।
गिरिजा प्रसाद कोइराला हुँदै सुशिल कोइरालासम्म आइपुग्दा काङ्ग्रेसमा अरु कसैको पकड बलियो थिएन । गिरिजा प्रसाद कोइरालासँग टिक्न नसकेपछि देउवाले प्रजातान्त्रिक काङ्ग्रेस बनाउन परेको थियो ।
कोइराला परिवारको विरासतले गर्दा १३ औँ महाधिवेशनमा कोइराला परिवारका शशांक कोइरालाले अर्जुन नरसिँह केसी, गगन थापालाई पराजित गर्दै महामन्त्रीमा जित हासिल गरेका थिए । यो बेला पनि कोइराला परिवारका पछिल्लो पुस्ताका नेता शेखर कोइराला चर्चामा नै थिए । उनले लोकप्रिय मतसहित केन्द्रीय सदस्य पदमा निर्वाचन जितेका थिए ।
तर, प्रतिनिधि सभा निर्वाचन २०७४ मा भने उनी एमालेका नेता लालबाबु पण्डितसँग मोरङमा पराजित भएका थिए । पण्डितसँग पराजित भएकाले सांसदको भूमिकाबाट बञ्चित भएका शेखरले संसदमा आफ्नो विचार राख्नबाट बञ्चित हुन पयो ।
अहिले १४ औँ महाधिवेशनको सम्मुखमा शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिने चर्चा चुलिएको छ । उनी देउवा इतर समूहबाट उम्मेदवारी दिने सोचमा रहेको बुझिन्छ । यसो हुँदा उनले वरिष्ठ नेता रामचन्द्र पौडेलको व्यवस्थापन गर्नुपर्ने हुन्छ । रामचन्द्र पौडेल १३ औँ महाधिवेशनमा देउवासँग पराजित भएका नेता हुन् ।
रामचन्द्र पौडेल गणतन्त्रकालदेखि राज्य र पार्टीको कुनै पनि कार्यकारी पदमा रहन सकेका छैनन् । उनीले प्रधानमन्त्री बन्नका लागि १७ पटक प्रयास गर्दा पनि सम्भव भएको थिएन ।
शेखर कोइरालाले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार घोषण गर्दा उनले जित्न सक्ने सजिलो अवस्था भने देखिँदैन । देउवाइतर समूहमा विभिन्न उपगुट छन् । ती उपगुटका आ–आफ्ना स्वार्थ रहेका छन् । यहाँसम्म कि सुजाता कोइराला नै शेखरका लागि समस्या भएर आउने सक्ने अवस्था छ । तर यहाँ शशांक काेइरालाले अन्तिमा शेखरलाई सघाउन सक्ने देखिन्छ । शशांककाे भन्दा शेखरकाे कार्यकर्तासँग बलियो सम्बन्ध रहेकाे काेइराला समूहकाे बुझाइ रहेकाे देखिन्छ ।
संस्थापनइतर वा देउवाइतर समूहमा पुराना काङ्ग्रेस नेता गणेशमान सिँहका छोरा प्रकाशमान सिँहले पनि सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले केही दिन अघि सम्पादकहरुलाई बोलाएर आफूले रामचन्द्र पौडेललाई अभिभावक भएर रहन आग्रह गरेको सुनाएका थिए ।
उनीले कुराकानीमा रामचन्द्र पौडेलको मात्र विषय उठाउँदा शेखर सभापति पदका लागि योग्य उम्मेदवार होइनन् भन्ने सन्देश गएको अवस्था पनि छ । सिँह काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसदसमेत छन् । उनको यस क्षेत्रमा पुरानो बलियो पकड रहेको मानिन्छ ।
गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको छ । अब म पार्टीको नेतृत्व गर्छु । म गणेशमानको छोरा भएर मात्रै राजनीतिमा आएको होइन । मेरो आफ्नै छुट्टै संघर्ष छ ।
यहाँसम्म आइपुग्दा धेरै अवरोधहरुको समाना गरेको छु । भनेर उनले परिवारवादको आलोचनालाई कमजोर बनाउन खोजेका पनि छन् । जुन कुरा शेखर कोइरालाको हकमा आलोचनाको पक्ष हो ।
शेखर कोइराला पनि परिवारवादले मात्र पार्टीमा आएका पात्र भने होइनन् । उनको पनि आफ्नै योगदान छ । उनी पार्टीभित्र वौद्धिक नेताका रुपमा चिनिन्छन् । अहिले काङ्ग्रेसमा विपी कोइरालाले परिकल्पना गरेको लोकतान्त्रिक समाजवादको अभ्यास कमजोर भएको बेला कोइराला परिवारका शेखरबाट आम मतदाताले सैद्धान्तिक रुझान राखेर कोइरालालाई नै निर्वाचित गराउन सक्ने अवस्था पनि छ ।
काङ्ग्रेसको १४ औँ महाधिवेशनले जो कसैलाई निर्वाचित गरेपनि त्यो खास काङ्ग्रेसीलाई फरक पर्नेवाला छैन । जसले जितेपनि काङ्ग्रेसीले नै जित्नेछ । तर, काङ्ग्रेसको महाधिवेशनले त्यसलाई फरक पार्न सक्नु पर्छ, जसको दैनिकी ज्यालादारी गरेर जीवन निर्वाहमा बितिरहेको छ । याे हुने सम्भावना कमै देखिन्छ । यस्तो नहुँदा देशका आम जनतालाई काङ्ग्रेसकाे महाधिवेशन खास सराेकारकाे विषय रहन जाँदैन ।