बेल्टारमा आँखा र कानसम्बन्धी अस्पताल संचालनमा आउँदै
नगर प्रमुख राईकाअनुसार २०७८ सालको विजया दशमी (दशैँ) र तिहारको बीचमा अस्पातल संचालनमा आइसक्नेछ ।

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा आँखा र कान उपचार गर्ने अस्पताल संचालनमा आउने भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल लहान र चौदण्डीगढी नगरपालिकाबीच भएको छलफलमा अस्तपताल संचालन गर्ने सहमति भएको हो ।

चौदण्डीगढी नगरपालिका नगर प्रमुख खगेन्द्र राई र सगरमाथा चौधरी आँखा अस्पताल लहानका अस्पताल प्रशासक अभिषेक रोशनबीच भएको छलफलमा बेल्टारमा आँखा र कानसम्बन्धी उपचार गर्ने अस्पताल संचालनमा ल्याउने सहमति भएको हो । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख राईकाअनुसार २०७८ सालको विजया दशमी (दशैँ) र तिहारको बीचमा अस्पातल संचालनमा आइसक्नेछ ।

आँखा र कानसम्बन्धी उपचार गर्ने अस्पताल संचालनमा ल्याउनका लागि चौदण्डीगढी नगरपालिकाले भौतिक पूर्वाधार निर्माण गर्ने र अस्पातललाई आवश्यक प्राविधिक सहायता तथा मेडिकल सामाग्री सगरमाथा चौधरी आँखा अस्पताल लहानले उपलब्ध गराउने सहमति भएको नगरपालिकाले जनाएको छ ।

बेल्टारमा आँखा र कानसम्बन्धी उपचार गर्ने अस्पताल संचालनमा आए हजारौँ स्थानीयबासी लाभान्वित हुने नगर प्रमुख राईले बताए । अहिले अधिकांश आँखा तथा कानसम्बन्धीका बिरामीहरू जिल्लाबाहिर गएर उपचार गराउन बाध्य छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.