काठमाडाैँ । १५ पदाधिकारीमा झण्डै ५ गुणा आकांक्षी रहेपनि नेताहरूले सहमतिमा नेतृत्व छान्ने रटान महाधिवेशनको दिनसम्म गरिरहेका छन् ।
१० बुँदे सहमति गरेर एमालेमै बसेका र पूर्वमाओवादी नेताहरुको अन्योल पनि उस्तै छ ।
प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार नवलपुरको गैँडाकोट र चितवनको विभिन्न ६ स्थानबाट जुलुस निस्कने बताए ।
महाधिवेशनको खुलासत्र व्यवस्थापन गर्न मात्रै पाँच हजार स्वयमसेवक परिचालन गरिएको छ ।
नीति विमर्श विधान महाधिवेशनमा नै सकिएकाले नेतृत्व चयनमा केन्द्रित हुने यो महाधिवेशनमा २ हजार १ सय ७५ प्रतिनिधिले भाग लिँदैछन् ।
नजिक रहेका प्रतिनिधिहरु शुक्रबार चितवन आइसक्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
केन्द्रीय कमिटीका नेताहरु भने बिहीबार नै चितवन आइसकेका छन् । हवाईमार्गबाट आएका अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्षस्थ नेताहरु सहमतिको लागि छलफलमा छन् ।
होटल सेभेन स्टारमा बसेका स्थायी कमिटी नेताहरुबीच साँझ अनौपचारिक छलफल समेत भयो । तर, सहमतिमै जानुपर्छ, भन्ने बाहेक अन्य सहमति भएन ।
सर्वसहमतिबाट पदाधिकारी र नेतृत्व छान्ने प्रयत्नको लागि छलफल भएको हो, आकांक्षीहरु धेरै हुनुहुन्छ, अन्तिम समयसम्म प्रयत्न हुन्छ । एक स्थायी समिति सदस्यले क्विक नेपालसँग भने ।
निर्विरोध नेतृत्व चयनका लागि केन्द्रीय कमिटीका नेताहरुले दबाब दिन सुरु गरेका छन् ।
विशाल भट्टराई, हिक्मत कार्की, रचना खड्कालगायत नेताहरुले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटेर सर्वसहमत नेतृत्व चयनको दबाव दिएका छन् ।
पदाधिकारी संख्या २१ देखि २३ सम्म बनाउने र केन्द्रीय कमिटीको संख्या ३०० बनाउँदा सहमति जुट्ने यी नेताहरुको तर्क छ ।
त्यसो हुँदा १०० जना नयाँ केन्द्रीय सदस्य आउने र ७५ जना महिला सदस्य थपिने उनीहरुको भनाइ छ । भीम रावललाई वरिष्ठ उपाध्यक्ष थपेर सहमति गर्नुपर्ने दबाब बढेको छ ।
व्यापक लागेका छौं, महाधिवेशन कुनै पनि हालतमा प्रतिस्पर्धात्मक र गुटबन्दी हुनुहुदैन । यसो भन्दैमा लोकतान्त्रिक अभ्यासबाट पछि हट्न खोजेको त होइन । एमाले सचेतक विशाल भट्टराईले क्विक नेपालसँग भने ।
सहमतिको आधार के भन्ने प्रश्नमा भट्टराईले भने सरकारमा हुँदा ३ करोड नेपालीलाई मिलाएको पार्टीले आफ्ना नेता कार्यकर्ता मिलाउन नसक्ने भन्ने होइन ।
अधिकांश वडा, प्रदेश, संगठन र प्रवास संगठनको सर्वसम्मत गर्न सक्ने, ती प्रतिनिधिहरुले पदाधिकारी सर्वसम्मत गर्न किन सक्दैनन् ? भन्ने हाम्रो माग हो । भट्टराईले थपे ।
शुक्रबार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दैछ ।
आकांक्षीमा ज–जसले दाबी गरिरहनु भएको छ, उहाँहरु पछि हट्न मानिरहनु भएको छैन । हामी अफ्ट्यारो परिस्थितिमा छौं । भावनात्मक एकता नै पार्टीको आवश्यकता हो ।
केन्द्रीय समितिमा मात्र होइन पदाधिकारीमा समेत महिला ३३ प्रतिशत पु¥याउने हाम्रो प्रयास हो । केन्द्रीय सदस्य रचना खड्काले क्विक नेपाललाई जानकारी दिइन् ।
एमालेमा पनि नेताहरु दुई धारमा देखिएकाले सहमतिको सम्भावना कमजोर देखिन्छ । महासचिव पोखरेल र संसदीय दलका उपनेता नेम्वाङको नेतृत्वमा ओली निकट नेताहरु दुई धारमा बाँडिएका छन् ।
उनीहरु दुबै वरिष्ठ उपाध्यक्षका आकांक्षी हुन् । दुवै तर्फका नेताहरु वरिष्ठ उपाध्यक्षभन्दा मुनिको पदमा उम्मेद्वारी घोषणाको प्रतिस्पर्धामा उत्रिएका छन् ।
अध्यक्ष ओलीले पदको लागि आश्वासन दिएका पदाधिकारीका आकांक्षी बोल्न चाँहदैनन् । अहिले यसबारे केही टिप्पणी नगरौं उपाध्यक्षका आकांक्षी रघुजी पन्तले क्वीक नेपालसँग भने ।