टिक्लान् ओलीसँग रावल ?

काठमाडाैँ ।  “सकभर हाम्रो प्रयत्न सहमतिमै हुन्छ, सबैमा सहमति हुन नसक्ला । यस्तो अवस्थामा हामी लोकतान्त्रिक विधिबाट बाँकी विषय टुंग्याउँछौ ।” एमाले प्रवक्ता प्रदीप ज्ञावलीले पदाधिकारी व्यवस्थापनबारे महाधिवेशनस्थलमा प्रवेश गर्दा बोलेका छन् ।

एमालेमा संस्थापन पक्षधर, १० बुँदे पक्षधर र पूर्वमाओवादीका नेताहरुबीच त्रिपक्षीय सन्तुलन मिलाउनु पर्ने भएकाले पदाधिकारी चयन सजिलो छैन ।

संस्थापनका आकांक्षीबीच सकभर चुनाव नलड्ने नीति छ । त्यसको लागि लेनदेनको रणनीति नेताहरूले अपनाएका छन् ।

भिम रावल र घनश्याम भुसालबाहेक माधव नेपाल समूह छोडेर एमालेमा बसेका नेताहरुलाई समेट्न ओली तयार छन् । रावल र भुसाल चुनाव नै लडुन भन्ने चाहना ओलीमा रहेको स्रोतले बतायो ।

१० बुँदे पक्षधर अरु नेताहरुको कुनै न कुनै हिसाबले व्यवस्थापन हुन्छ । रावल र भुसालको हकमा चाहिँ उनीहरुले चुनाव नै लड्नु भन्ने अध्यक्षको आशय देखिएको छ । स्रोतले भन्यो ।

रावलले कम्तीमा वरिष्ठ उपाध्यक्ष र भुसालले कम्तिमा उपमहासचिवको इच्छा राखेका थिए । उनीहरु प्रति ओली अनुदार भएपछि पदाधिकारीमा चुनाव हुने निश्चित भएको छ ।

उहाँंले अध्यक्षमा नै चुनावमा लड्नुहुन्छ, दायाँ बायाँ हुन्न । पार्टीमा सहमतिबारे कुरै भएको छैन । रावल निकट नेताले क्विक नेपाललाई बताए ।

अष्टलक्ष्मी शाक्यले उपाध्यक्षमा निरन्तरता पाउने छिन् । यस्तै, युवराज ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष बनाउने तयारीमा ओली छन् ।

महासचिव वा त्योभन्दा माथिको दावी गरेका नेता सुरेन्द्र पाण्डेलाई सचीवमा मनाउन सके नेता व्यवस्थापनमा ओलीलाई सहज छ । तर, पाण्डे यसअघिको महाधिवेशनमा नै महासचिवमा उठेर पराजित भएकाले सचिवमा सहमत हुने सम्भावना छैन ।

पाण्डेलाई पनि कुनै पदमा सेटलमेन्ट गर्ने मुडमा ओली छन् । उपाध्यक्ष भए सेटल हुने पक्षमा पाण्डे छन् ।

१० बुँदे पक्षधर अन्य दुई नेता योगेश भट्टराई र गोकर्ण विष्टले सचिवमा नै निरन्तरता पाउने छन् ।

वरिष्ठ उपाध्यक्षको आकांक्षी राम बहादुर थापा, उपाध्यक्षका आकांक्षी टोपबहादुर रायमाझी, सचिवका आकांक्षीद्वय लेखराज भट्ट र मणि थापा तथा स्थायी कमिटी सदस्यका आकांक्षी प्रभु शाह लगायतका पूर्व माओवादी नेताहरु अध्यक्ष ओलीको तजबीजिले जुन पद दिए, सोही पदमा चित्त बुझाउने पक्षमा छन् ।

पार्टीभित्र सहमतिको कुरा पहिलेदेखि भएको हो । तर, कुन पदमा सहमति हुन्छ, त्यो भन्न सँकिदैन । यसबारे छलफल भएको छैन । नेता मणि थापाले क्विक नेपालसँग भने ।
एमालेका जननेतन मदन भण्डारीको एउटा चर्चित भनाइ छ, ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् ।’

यो नेपाली राजनीतिमा धैरै पटक पुष्टि भइसकेको उक्ति हो । हुन त यो राजनीतिमा मात्रै नभएर दैनिक जीवनमा पनि मेल खान्छ । कोही कसैको मित्र र शत्रु भइरहन सक्दैन । परिस्थितिले कसलाई के बनाउँछ, ठाकै भन्न सकिन्न । त्यसैले पनि जननेताको उक्ति लोकप्रिय छ ।

केही समय अघि प्रचण्ड र ओली घनिष्ट सम्बन्धमा थिए । सम्बन्धको निकै राम्रो गुणगान गाइएको थियो । तर, अहिले प्रत्येक कार्यक्रममा एक–अर्कालाई आरोप–प्रत्यारोप नलगााई बोल्न सक्दैनन् । माधव नेपाल र ओलीको पनि स्थिति त्यस्तै छ ।

ओली–रावल सम्बन्ध

२०४४ सालमा जेलबाट छुटेर राजनीतिमा सक्रिय हुन थालेदेखि नै ओलीले सधैं आफ्नो समूह निर्माणमा ध्यान दिएको देखिन्छ । समूह नभई नेतृत्व पाउन नसकिने ओलीको धारणा थियो ।

उनी २०५१ सालमा मनमोहन अधिकारी सरकारमा गृहमन्त्री बनेका थिए । त्यसले ओलीलाई आफ्नो समूह बनाएर अघि बढ्न मद्दत ग¥यो ।

२०५१ को उक्त सरकारमा रावल पर्यटन राज्यमन्त्री बनेका थिए । ओली र रावलले उक्त सरकारमा सँगै काम गरेका हुन् ।

मन्त्री बनेको भएपनि रावलले आफ्नो प्यानल बनाउन ध्यान दिएनन् । उनको पार्टीभित्र त्यस्तो बलियो प्यानल छैन । उनकै सुदूरपश्चिमका साथीहरुले समेत साथ दिने गतिलो आधार देखिएको छैन ।

अहिले ओली र भिम रावल एउटै पार्टी भित्रको नेता भएपनि प्रतिस्पर्धीको रुपमा छन् । २०६५ सालमा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनमा पूर्व झापाका ओली र पश्चिम अछामका रावल एउटै प्यालनमा थिए ।

ओलीले त्यतिबेला भीम रावललाई उपाध्यक्ष राखेर प्यानल बनाएका थिए । ओलीको प्यानलमा आउनुअघि रावल खनालको पक्षमा थिए । खनालले पद नदिने भएपछि रावल ओलीको प्यानलमा गएका थिए । तर, रावल विजयी हुन सकेनन् ।

पूर्वका ओली र पश्चिमका रावल देशकै केन्द्र भागमा पर्ने चितवनमा १० औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्दैछन् । ओलीको अध्यक्ष जित्ने निश्चित छ । भने, रावलको सम्भावना झिनो छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.