क्व्होलासोथार गाउँपालिकाले खोल्यो आफ्नै खर्चमा पाँच किलोमिटर सडकको ट्रयाक
विकट गाउँका प्रत्येक वस्तीलाई सडक सञ्जालले जोड्ने लक्ष्यका साथ सडक निर्माणलाई प्राथमिकतामा राखिएको अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा पाँच किलोमिटरभन्दा बढी नयाँ सडकको ट्रयाक खोलेको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षमा मात्रै विभिन्न वडाका विकट गाउँमा जोड्ने पाँच किलोमिटर ६४१ मिटर सडकको लागि नयाँ ट्रयाक खोलेको हो । हालसम्म कालोपत्रे सडकले नछोएको सो गाउँपालिकाले आफ्नै बजेट खर्च गरेर ट्रयाक खोल्नुका साथै मर्मत तथा स्तरोन्नति गरेको हो । विकट गाउँका प्रत्येक वस्तीलाई सडक सञ्जालले जोड्ने लक्ष्यका साथ सडक निर्माणलाई प्राथमिकतामा राखिएको अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

गाउँपालिका - २, ५, ६ र ९ अन्तर्गतका विभिन्न गाउँ पुग्ने नयाँ सडक ट्रयाक खोलिएको हो । गाउँपालिकाभित्र हालसम्म १४४ किलोमिटर कच्ची सडक रहेको अध्यक्ष घलेले बताए ।

गाउँपालिकाले गत आर्थिक वर्षमा मात्रै करिब १६ किलोमिटर सडक मर्मत तथा स्तरोन्नति गरेको जनाएको छ । पालिकाभित्रका सबै वडाअन्तर्गत १५ दशमलव ९९ किलोमिटर सडक मर्मतका लागि गाउँपालिकाले ७३ लाख ७४ हजार ३८ रुपैयाँ खर्च भएको जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.