चितवन । नेकपा एमालेको महाधिवेशनको बन्दसत्र सुरु भएको छ । यद्यपि महाधिवेशनबाट सर्वसमतिमा पदाधिकारी चयन गर्ने मनसायमा रहेका सो हुन नसक्दा ओली सकसमा छन् । १०औँ महाधिवेशनबाट अध्यक्ष पदमा दोहोरिने निश्चित जस्तै रहेका ओलीलाई भीम रावलले चुनौती दिँदै छन् ।
सहमति जुटाउन अध्यक्ष ओलीसहित अन्य नेता पनि पटक-पटक छलफलमा जुटिरहेका छन् । छलफलका क्रममा ओलीले अध्यक्ष पदमा दाबी गरेका रावललाई वरिष्ठ उपाध्यक्षको प्रस्ताव गरेका छन् । त्यसैगरी ओलीले सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यलाई क्रमश: राष्ट्रपति र उपराष्ट्रपतिको प्रस्ताव गरेका छन् ।
तर, ओलीका यी प्रस्तावबाट कोही पनि पछि हटेका छैनन् । अध्यक्षका प्रत्यासी भीम रावलले अध्यक्ष पदका लागि भोट माग्नै सुरु गरेका छन् भने सुवास नेम्वाङले आफू अडिग गरेको बताएका छन् ।
ओलीनिकट नेताहरूले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवार नबन्न दबाब दिइरहेको बताइएको छ । ईश्वर पोखरेललगायत नेताले नेम्वाङलाई पार्टीमा बसेर आगामी निर्वाचनपछि राष्ट्रपतिको तयारी गर्न भनेको स्रोतले जानकारी दियो ।
पार्टी नेतृत्वलाई एकताबद्ध बनाएर लैजानका लागि कसलाई के पदमा ल्याउने भन्नेबारे प्रस्ताव बन्दसत्रको हलमा राख्न पनि नेम्वाङले अध्यक्ष ओलीलाई आग्रह गरेको बताइएको छ । ओलीले भने त्यसको कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।
वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत हुनका लागि पोखरेलले ओलीको साथ पाएको बताइएको छ । तर, नेम्वाङलगायत नेताहरूले भने आफू पनि उम्मेदवार बन्ने अडान लिएपछि ओली अप्ठ्यारोमा परेका छन् । अध्यक्ष ओलीले फेरि नेम्वाङ, पोखरेल, पौडेल, विष्णु रिमालसँग छलफल गरेका थिए ।