भेटघाटको माध्यम बन्दै दर कार्यक्रम
दर खाने कार्यक्रमलाई महिलाहरूले चाड मात्र नभएर यसलाई भेटघाट गर्ने एउटा अवसरको रूपमा लिएका छन् ।

सुधा देव, सप्तरी । राजविराज नगरपालिकामा तीजको दर खाने कार्यक्रमको आयोजना गरियो । विभिन्न क्षेत्रमा कार्यरत विभिन्न समुदायका महिलाहरू एकै ठाउँमा बसेर खानपान नगरेको पनि निकै भएको थियो।

दर खाने कार्यक्रमलाई महिलाहरूले चाड मात्र नभएर यसलाई भेटघाट गर्ने एउटा अवसरको रूपमा लिएका छन् । परिवार नियोजन संघमा कार्यरत स्वास्थ्यकर्मी निभा देवले भनिन्, ‘हामी कति व्यस्त भएका छौँ । घरमा काम, बाहिर काम, छिमेकी साथी बाटोमा भेटेपनि के छ हाल खबर भन्दै हिँड्नुपर्ने बाध्यता हुन्छ । गफ गर्न भ्याइँदैन्। कति बेला घर पुगेर आफ्नोे जिम्मेवारीमा रहेको काम सकिन्छ भन्ने चिन्ता हुन्छ ।’

तर, दर खाने कार्यक्रमले एकै ठाउँ बसेर तीन चार घण्टा आफ्ना दुःख सुख साट्न पाएको उनले बताइन् । राजविराज नगरपालिकाको कार्यालयमा कार्यरत शीला कर्णले घरभित्रको जिम्मेवारी र बाहिर अफिसको दोहोरो जिम्मेवारी निर्वाह गर्ने महिलालाई कहिल्यै फुर्सद नहुने बताइन् । उनले थपिन्, ‘व्यस्तताले पाँच मिनट पनि साथीसँग गफ गर्न नसकिएको बेला दर कार्यक्रमले कम्तिमा सँगै बस्ने अवसर त जुराइदियो ।’

निभा, सिलाले जस्तै स्थानीय पत्रकार करूणा झा, पुनम पाण्डेसहितका महिलाले पनि दर खाने कार्यक्रमलाइ भेटघाटको लागि राम्रो अवरको रुपमा लिएका छन् । सप्तरीमा सामूहिक रुपमादर खाने चलन पाँच वर्ष यता शुरू भएपनि एक दुई समुहले मात्र सँगै खाने गर्थे । गत वर्ष भने कोरोनाको कारण सामुहिक रुपमा भेटघाट र दर खाने कायक्रमको अयोजना गर्न सम्भव भएको थिएन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.