सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा मतदान अधिकृत नियन्त्रणमा लिन खोज्दा झडप भएको छ ।
झडप हुने स्थिति सिर्जना भएपछि बलरामा सोमबार दिउसो पुनः गोली चलेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
घटनामा तीनजना सुरक्षाकर्मी, एकजना मतदान अधिकृत र एक कांग्रेस कार्यकर्ता घाइते भएका प्रहरी प्रवक्ता डिएसपी बुढाथोकीले पुष्टि गरे । घाइते हुनेमा प्रहरी निरीक्षक सुरेश ठाकुर र अन्य दुई सुरक्षाकर्मी भएको खुलेको छ ।
यस्तै, झडपमा बलरा नगरपालिका–८, अचलगडमा मतदान अधिकृतको रुपमा खटिएका उमेशचन्द्र झा र अर्का एकजना नाम ठेगाना नखुलेका कांग्रेस कार्यकर्ता रहेको प्रहरीले जनाएको हो । उनीहरुमध्ये मतदान अधिकृत झाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अन्यको अवस्था सामान्य छ । उनीहरुलाई प्रहरीले स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात् थप उपचारका लागि जिल्ला अस्पताल मलंगवामा पठाएको छ ।
आइतबार स्थगित भएको वडाअधिवेशन मतदान प्रक्रियाबाट गर्ने तयारी भइरहँदा, दुई पक्षबीच फरकफरक ठाउँमा गर्ने प्रस्वताव आएको थियो । सोही क्रममा कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अम्रेस सिहं पक्षका कार्यकर्ताले मतदान अधिकृतलाई वडासभापतिको घर लैजान खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अम्रेस कुमार सिहं र प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिहंबीच कडा टक्राव रहँदै आएको छ । एउटै पार्टीका दुई नेताबीचको लडाइका कारण उक्त क्षेत्र अशान्त रहने गरेको छ ।