एउटै पोखरीको पानीमा निर्भर छन् ६५ परिवार
चारवटा बस्तीका ६५ घरपरिवारको सिँचाइका लागि मात्र नभएर खानेपानीका लागिसमेत पोखरीकै भर पर्नुपरेको छ ।

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ स्थित टाँक, गजेला, राजगैरा, मैरान बस्तीमा खानेपानीको समस्या झेल्दै आएका छन् । चारवटा बस्तीका स्थानीय बासिन्दा एउटै पोखरीको पानी खान बाध्य छन् ।

चारवटा बस्तीका ६५ घरपरिवारको सिँचाइका लागि मात्र नभएर खानेपानीका लागिसमेत पोखरीकै भरपर्नुपरेको छ । २०६५ सालमा आशा कार्यक्रमको सहयोगमा निर्माण भएको पोखरी जीर्ण भएपछि झनै समस्या देखिएको छ।

पालिकाको दुर्गम बस्तीका रूपमा रहेको सो ठाउँमा खानेपानी र सिँचाइको चरम समस्या छ । झलेखोलाको मूलबाट बग्ने पानी सुक्न थालेपछि पोखरीमा पानीको अभाव देखिएको टाँक सिँचाइ उपभोक्ता समितिका अध्यक्ष भीम लुहारले बताए ।

१३ वर्ष पहिला करिब नौ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको डेढ लाख लिटर क्षमता भएको पानी पोखरी जीर्ण हुँदै गएको अध्यक्ष लुहारले बताए ।

स्थानीय कालु पार्की भन्छन्, ‘चार बस्तीको एउटै पोखरी भएकाले सिँचाइ गर्न पालो नै पुग्दैन ।’ विगतका वर्षदेखि पानीको समस्या झनै बढ्न थालेको उनी बताउँछन् । पानी मुहानबाट सडक खनिएपछि मुहानको पानी सुक्न थालेको स्थानीय रत्नादेवी बिकले बताइन् । सडक निर्माणले पानी अवरोध भएको उनको भनाइ छ ।

चारवटै बस्तीमा करिब ८० प्रतिशत दलित परिवार बसोबास गर्ने भए पनि शुद्ध पिउने पानीका लागि खानेपानीको धारा देख्नसम्म नपाइएको स्थानीयको गुनासो छ ।

खानेपानीको चरम अभाव खेप्दै आएका बेलापुरबासीका लागि वृहत्तर बेलापुर खानेपानी योजना चालू आर्थिक वर्षमा संचालन हुने नवदुर्गा गाउँपालिकाका अध्यक्ष कवीन्द्र बिष्टले बताए ।

संघीय सरकारको सहयोगमा १२ करोड रुपैयाँ बजेट विनियोजित भई टेन्डर प्रक्रिया पूरा भएकाले तत्कालै काम संचालनमा आउने अध्यक्ष बिष्टले जानकारी दिए । उनका अनुसार बेलापुर बृहत्तर खानेपानी योजनाको निर्माण ठेक्का चन्द्रा एण्ड वसन्ती जेभी दुनिला कन्स्ट्रक्सनले पाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.