धनकुटामा कांग्रेस महाधिवेशनको सरगर्मी
धनकुटामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच प्रतिस्पर्धा हुने देखिन्छ । 

ईश्वर थापा
धनकुटा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै धनकुटामा सरगर्मी बढेकाे छ ।

जिल्ला, क्षेत्र र नगर सभापतिमा आकांक्षीले टोलटोल र वडावडामा क्रियाशील सदस्यसँग भेटघाट, भेला र बैठकलाई तीव्रता दिएका हुन्। आकांक्षीहरु प्यानल बनाएर रणनीति तय, उम्मेदवार चयनका साथै प्रतिनिधि आफ्नो पक्षमा ल्याउने कसरतमा छन् ।

यी हुन् आकांक्षी
धनकुटामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच प्रतिस्पर्धा हुने देखिन्छ । 

देउवा प्यानलबाट मनोहरनारायण श्रेष्ठ, अग्निप्रसाद पौडेल, नविनकिशोर शाक्य र दिनेश राई सभापतिका आकांक्षी छन्। पौडेल पक्षबाट कमोट फागो, धीरेन्द्र मिश्र, इन्दिरा थापा, घनेन्द्रराज श्रेष्ठ र बालानन्द दाहाल सभापतिका आकांक्षी रहेका छन् ।

देउवा प्यानलबाट सभापतिमा आकांक्षी रहेका श्रेष्ठ यसअघि दुई पटक धनकुटा कांग्रेसको सभापति भइसकेका छन् भने हाल आमन्त्रित केन्द्रीय सदस्य हुन्।

पौडेल, शाक्य र राई कांग्रेस धनकुटाको वर्तमान कार्यसमितिका क्रमश:  सभापति, उपसभापति र कोषाध्यक्ष छन्।

पौडेल पक्षबाट सभापतिका आकांक्षी फागो गत महाधिवेशनमा सभापतिमा र मिश्र सचिवमा पराजित भएका थिए। थापा धनकुटा क्षेत्र नम्बर २ का सभापति,  श्रेष्ठ महासमिति सदस्य तथा दाहाल नेपाल विद्यार्थी संघ धनकुटाका सभापति हुन्।

कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईका अनुसार जिल्ला अधिवेशनका लागि वडाबाटै प्रतिनिधिमा निर्वाचित भएर आउनुपर्ने भएकाले अहिले नै जिल्लामा उम्मेदवारकाे चर्चा गर्नुकाे अर्थ छैन ।

सभापतिका आकांक्षी रहेका मिश्रले भने आकांक्षीहरु वडाबाट निर्वाचित नहुने अवस्था नरहेको बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.