सामाजिक सुरक्षा कोषमा अध्यक्ष फेरिए, तीन सदस्य पनि नियुक्त

काडमाडौं । सामाजिक सुरक्षा कोषमा अध्यक्ष फेरिएका छन् ।   सचिव सुर्यप्रसाद गौतम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याललाई अध्यक्षको जिम्मेवारी दिएको छ ।  

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ ले सामाजिक सुरक्षा कोषको सञ्चालक समिति अध्यक्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ ।

यस्तै सञ्चालक समितिको रिक्त तीन सदस्य नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल उद्योग परिसंघका कार्यसमिति सदस्य गोकुल भण्डारी र होटलको तर्फबाट समिका बुढाथोकी नियुक्त गरिएको हो ।

ढकाल आईएमई समूहका अध्यक्ष हुन् भने भण्डारी नेपाल ग्यासका कार्यकारी निर्देशक रहेका छन् । बुढाथोकी भने आरुसी बुटिक होटलको सञ्चालक हुन् । तीनै जनाको कार्यकाल चार वर्षको हुनेछ ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा १९ एकको उपदफा ज बमोजिम रोजगारदाता मध्येबाट ढकाल, भण्डारी र बुढाथोकी नियुक्त भएका हुन् ।

अध्यक्ष र कोषको सदस्यसचिवसहित सामाजिक सुरक्षा कोषको सञ्चालक समिति १३ सदस्यीय हुने व्यवस्था छ । जसमा पदेन अध्यक्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव, पदेन सदस्यमा क्रमस नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव, राष्ट्रिय योजना आयोगका सहसचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव रहने व्यव्था छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.