सिन्धुली । मङलबार माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रदेश सासंद लेखनाथ दाहालले मजदुर माथि गरेको हातपातको बिषयलाई लिएर स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण भएको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले बताएका छन ।
सांसद दाहालले स्थानीय सरकारको अनुमतिमा कर संकलन गरिरहेका मजदुरमाथी हातपात गरेका हुन् । सांसदले नै मजदुर माथी आक्रमण गरेपछि स्थानीयवासी र स्थानी सरकारले गम्भीर आपत्ति जनाएका छन् ।
जननिर्वाचित सासंदले मजदुर माथि कुटपिट गर्नु र ढाट भत्काउनु स्थानीय सरकार माथिको अपमान हो, यो उदण्ड क्रियाकलापको सरकारले प्रतिबाद गर्छ, मेयर घनश्याम राउतले भनेका छन् ।
नगरपालिका कार्यालयले कानुनी हिसाबले ब्यवस्थापन गरेको ठेक्कामा बिना कारण हस्तक्षेप गर्न खोज्नु बेठिक भएको बताउँदै ठेकेदार कम्पनिलाई उजुरी लिएर कार्यालयमा आउन र सम्झौता अनुसार आफ्नो काम सुरू गर्न भनिएको मेयर राउतले बताए ।
दुधौली नगरपालिका कार्यालयले आर्थिक बर्ष २०७८÷०७९ का लागि रू २,२६,५६५ मा पुर्वाधार उपयोग कर संकलनको ठेक्का लगाएको थियो । उक्त पुर्वाधार निकाशी करको ठेक्का केएल केएन निर्माण सेवाले प्राप्त गरेको थियो ।
उक्त निर्माण सेवाले नगरपालिकासँग अनुमति लिएर दुधौली नगरपालिका–३ झुंगामा ढाट राखेर कर संकलन गरिरहेको अवस्थामा कम्पनिका कर्मचारी निश्चल कार्की माथि सासंद दाहालले हातपात गर्दै ढाट तोडफोड गरेका थिए ।