राप्रपाले युवा नेतृत्व पाएको छ । पार्टी अध्यक्ष कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देनले राप्रपाको नेतृत्व सम्हालेका छन् । लिङदेनले यसअघि नै राप्रपामा केन्द्रीय सदस्य, महामन्त्रीलगायत जिम्मेवारी सम्हालिसकेका छन् ।
उमेरले ५६ वर्ष पार गरे पनि राप्रपाभित्र युवा नेताको रुपमा चिनिने लिङ्देन हाल प्रतिनिधिसभा सदस्य छन् ।
२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्य बनेका थिए ।
२०२२ मा पाँचथरको अरापुरमा जन्मिएका लिङ्देनको राजनीतिक यात्रा २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भई सुरु भएको थियो ।
२०४७ सालमा राप्रपा झापा जिल्ला सचिव बनेका उनी २०४९ सालमा राप्रपाको विद्यार्थी संगठन (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन)का संस्थापक अध्यक्ष बनेका थिए ।
स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका लिङ्देन २०६१ देखि २०६३ सम्म जिविस झापाको सभापतिको जिम्मेवारीसमेत सम्हालेका छन् ।
२०४७ मा राप्रपाको जिल्ला तहको पदाधिकारी बनेका लिङ्देनले २०६६ मा पार्टी केन्द्रीय सदस्य र महामन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
राजनीतिक आन्दोलनको क्रममा उनले २०३८ र २०४७ सालमा जेल परेका थिए । उनले नौ महिनाभन्दा बढी बन्दीजीवन बिताएका छन् ।
राजनीतिशास्त्र र इतिहासमा स्नातकसम्म अध्ययन गरेका गरेका लिङ्देन आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रुपमा परिचित चिनिन्छन् । उनी युवापुस्तामा लोकप्रिय मानिन्छन् ।