काठमाडौं । नवनिर्वाचित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्ता तथा शुभचिन्तकलाई विजयको जुलुस ननिकाल्न र आफ्ना लागि फूलमाल लिएर नआउन आह्वान गरेका छन् ।
महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्ष बनेका लिङ्देनले विजयपछि सो बताएका हुन् । विजयसँगै पार्टीमा गुट उपगुटको अन्त्य भएको बताउँदै उनले भने,‘यो आन्तरिक प्रतिस्पर्धा हो, तपाईंहरुले विजय जुलुस निकाल्नु पर्दैन । माला लगाइदिनुपर्दैन ।’
लिङ्देनले विगतमा जे भए पनि आजबाट राप्रपामा गुट अन्त्य हुने दाबी गरे । ‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो–भयो, अब आजबाट हामी सबै एक छौं । कोही कुनै पक्षका छैनौं ।’
‘आजबाट कुनै गुट छैन । कोही कसैको मान्छे छैन,’ उनले अगाडि भने, ‘यो विजयको, नेतृत्व परिवर्तनको अनेक आयाम र उपलब्धि छन् । सबैभन्दा ठूलो उपलब्धि भनेको हिजो हामी एउटा नेताको मान्छे भएर पार्टीको कार्यक्रममा जान्थ्यौं । आजबाट हामी राप्रपाको मान्छे भएर जाने छौँ ।’