कमल थापा पराजय हुनुका १० कारण

काठमाडौँ । पूर्व पञ्चहरुको एक समूह हो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) । पञ्चायत समर्थकले जन्माएको र दरबारको छत्र छायामा हुर्किएर राज संस्थाको नै पहरेदारी गर्ने पार्टी हो, यो ।

राप्रपाको सपना वा मुद्दा भनेको नै राजसंस्था पुनःस्थापना गर्नु र हिन्दूराष्ट्र निर्माण गर्नु हो । राप्रपा स्थापना भएदेखि हालसम्म आइपुग्दा नेपालमा कति राजनीतिक उथल पुथल भइसकेकोे छ । तर, राप्रपा तिनै मुद्दालाई बोकेर हिँडेको छ ।

ढलिसकेको राजतन्त्रात्मक व्यवस्था पुनः फर्काउँछु र नेपाललाई हिन्दू राष्ट्र नै कायम गराउँछु भन्दै पछिल्लो १५ वर्षदेखि लगातार राप्रपाको नेतृत्व सम्हालेका व्यक्ति हुन्ः कमल थापा ।

तत्कालीन राप्रपाले राजतन्त्रवादी धार छाड्दा त्यसप्रति असन्तुष्टि जनाउँदै कमल थापाले नयाँ दल राप्रपा नेपाल गठन गर्दा उनलाई साथ दिने नेतामा थिए, राजेन्द्र लिङ्देन ।

२०६४ पछि निरन्तर रुपमा थापाकै कित्तामा बसेका लिङ्देनले २०७४ सालको प्रतिनिधिसभामा झापाबाट चुनाव जित्दै संसद्मा राप्रपाको बीउ जोगाएका थिए ।

राप्रपाको एकता महाधिवेशन अघि तीन अध्यक्ष थिए । कमल थापा, पशुपति शमशेर, प्रकाशचन्द्र लोहनी । हाल भएको निर्वाचनबाट कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजय भए ।

यो सँगै कमल थापाको राजनीतिक अस्तित्व समाप्त भएको होकी आशंका उठेको छ । कमल थापाको भविष्य कस्तो रहला ? यो कुरा आउँदा दिनहरुले बताउने छन् ।

थापाको पराजयका कारण

राजेन्द्र लिङ्देनले १ हजार ८ सय ४४ मत पाएका छन् । थापाले जम्मा १ हजार ६ सय १७ मत पाएका हुन् । राप्रपा निर्वाचनमा ४ सय १३ मत बदर भएको हो ।

अध्यक्ष थापाले पराजित भएपछि ट्वीट गर्दै पराजय सहर्ष स्वीकार गरेका थिए । ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना ।’ थापाले भनेका छन् ।

उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप पनि लगाएका छन् । ‘प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’ उनले भनेका छन् ।

उनले ट्वीटमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र बोकेर हिँडेको पुरस्कार आज पाइयो भनेका छन् । ‘मैले राहत र उन्मुक्ति पाएको छु । सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो ।’ उनले भनेका छन्, ‘सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

थापा सपथ ग्रहण कार्यक्रममा समेत सहभागी भएनन् । उनी सामाजिक सञ्जालमा अनेक अकलबाजी काटेर बस्न व्यस्त भए । कहिले मन फाट्यो गीत स्मरण गरे त कहिले हिमानी शाहलाई बधाई दिए राजसंस्था पुनःस्थापना हुने भयो भन्दै बसे ।

यसबाट के बुझिन्छ भने उनको राजपरिवारसँग सम्बन्ध चिसिएको थियो । उनले उम्मेद्वारी घोषणा गर्दै गर्दा समेत निर्मल निवासले नखेले सहज जित्ने भनेका थिए । अहिले निर्मल निवासले खेलेकोले हारेको उनले बताएका छन् ।

  •  थापालाई लामो समयदेखि साथ दिएका लिङ्देनको गत आमनिर्वाचनपछि देखिनै फाटो आएको थियो । लिङ्देन निकट नेताहरुले थापाले थ्रेट महसुश गरेर तल्लो तहमा जनमत भएका नेताहरु लिङदेन र धवललाई किनारा पार्न खोज्नु ।
  •  आफू ३० वर्षमा नै मन्त्रि भएर ५६ वर्ष पुगेका लिङ्देनलाई अपरिपक्व ठान्नु ।
  •  धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताविरोधी पार्टीले जनमतबाट आफूलाई प्रमाणित गर्न नसक्नु ।
  •  बाहिरका संघसंस्थाहरुलाई समेत विश्वास दिलाउन नसक्नु ।
  •  २०७० साल दोस्रो संविधानसभा जति जनमत प्राप्त भएको थियो । त्यसलाई पनि जोगाएर राख्न नसक्नु ।
  •  सक्रिय राजतन्त्र नभइ सबैको संरक्षकको रुपमा रहने गरी संवैधानिक राजतन्त्र हुनपर्छ, भन्ने थापाको विचार हुनु ।
  •  पार्टीभित्र आफ्ना पक्षका सबै कार्यकर्तालाई सन्तुष्ट बनाउन नसक्नु ।
  •  निर्मल निवासलाई रुझाउन नसक्नु ।
  •  थापालाई हराउन थापापक्षधर नै लागि पर्नुु ।
  •  शमशेरको समर्थन ढिला पाउनु ।

‘कमल थापा हार्नुको मुख्य कारण निर्मल निवास दरबारबाट बारम्बार पार्टीको उच्च स्तरीय नेताहरुलाई फोन गरेर कमल थापालाई जसरी हुन्छ हराउनु पर्छ, यो पाली सहयोग नगरुम भनेर दबाब आएको र राजेन्द्र लिङ्देनलाई जिताउन भनेर होइन की कमल थापालाई हराउन भनेर लागि परेको समुह धेरै थिए र पशुपति शमशेर राणाको समर्थन निर्वाचनको मुखमा मात्रै पाएकाले कमल थापाले हार ब्यहोर्नु पर्यो ।’ राप्रपाको एक नेताले क्विक नेपालसँग भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.