राप्रपाभित्र कमल थापाको बहुमत

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेन समापन भएको छ । तर, एकता महाधिवेशन भनिए पनि एकताको भाव देखिन सकेन । अध्यक्ष पदमा पार्टी भित्र अब्बल मानिने कमल थापा पराजित भएका छन् । उनलाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी भएका हुन् ।

३० वर्षको उमेरमा मन्त्री भएर अहिलेसम्म पाँच पटक मन्त्री बनिसकेका थापा लिङ्देनसँग पराजित हुने कुरा महाधिवेशन पूर्व परिकल्पना नगरिएको कुरा थियो ।

अध्यक्षमा लिङ्देनले जिते पनि अन्य पदाधिकारीमा भने थापा पक्षको नै वर्चश्व रहेको छ । थापाको पदाधिकारीमा मात्र होइन, केन्द्रीय समितिमा पनि बाक्लो उपस्थिति छ । जसलाई हेर्दा थापाको अझै पनि पार्टीभित्र बहुमत छ ।

पार्टीभित्र बहुमत हुदाँहुँदै पनि कमल थापा हारे । उनलाई जिताउन राप्रपाका पुराना नेताहरु पशुपति शमशेर जबरा, दीपक बोहरा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र जयन्त चन्दसमेत एकजुट भएर लागेका थिए । तर, उनीहरुको जिताउने प्रयास सफल हुन सकेन ।

मतगणनाको अन्तिम परिणामअनुसार लिङ्देनले अध्यक्षमा जिते पनि महामन्त्रीको एउटा पद बाहेक सबै पदाधिकारीमा र केन्द्रीय कमिटीमा कमल थापा पक्षको नै विजय भएको छ ।

राप्रपाको १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा महाधिवेशनले पदाधिकारीसहित १ सय ४९ जनालाई निर्वाचित गरेको छ । जसमा प्रायः कमल थापा पक्षधर नै छन् । तर, अध्यक्ष लिङ्देनले विधानअनुसार अब ५० जनालाई केन्द्रीय कमिटीमा मनोनित गर्न पाउने छन् । जसको आधारमा बहुमत पु¥याउने लिङ्देन पक्षको हिसाब छ ।

विक्रम पाण्डे लिङ्देनको नै पक्षमा लागे भने पनि पदाधिकारीमा कलम थापा पक्षको बहुमत पुग्छ । दुवै पक्षको प्यानलमा देखिएका पाण्डे कता खुल्छन् भन्ने टुङ्गो लागिसकेको छैन ।

निर्वाचन समितिले घोषणा गरेको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् । खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । दुवै प्यानलमा समेटिएका उनले २ हजार ५ सय २१ मत ल्याए ।

थापा प्यानलका बुद्धिमान तामाङ १ हजार ९ सय ४४ मत ल्याएर विजयी भएका छन् । सोही प्यानलमा ध्रुवबहादुर प्रधान १ हजार ८ सय १४ भोट ल्याएर विजयी भएका छन् ।
महिला उपाध्यक्षमा पनि थापा पक्षकी रोशन कार्की १ हजार ६ सय ८९ मत ल्याएर विजयी भएकी छन् ।

महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशमशेर राणाले सर्वाधिक २ हजार २ सय २१ भोट ल्याएर विजयी भएका छन् । थापा पक्षका भुवन पाठकले १ हजार ८ सय ५ भोट ल्याएर जित हासिल गरे ।

महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २ हजार ८ मत ल्याएकी छन् । महिला महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनले १ हजार ६ सय ४० भोट मात्र सकिन् ।

अध्यक्षसहित पदाधिकारीको ८ पदमा राजेन्द्र लिङ्देन पक्षबाट महामन्त्रीमा धवल शमशेर राणामात्रै विजयी भएका छन् । पदाधिकारीमा थापा पक्षका उपाध्यक्ष ध्रुवबहादुर प्रधान र बुद्धिमान तामाङ विजयी भएका छन् । महिला उपाध्यक्षमा कमल थापा समूहकै रोशन कार्की विजयी भएका छिन् । उपाध्यक्षमा लिङ्देन पक्षका दिलविकास राजभण्डारी, रामचन्द्र राय र दुर्गा श्रेष्ठ तीन जना नै पराजित भएका हुन् ।

महामन्त्रीमा महिलातर्फ लिङ्देन पक्षकी अभिनेत्री रेखा थापा पराजित भइन् । उनी महिला कोटामा महामन्त्रीको उम्मेदवार थिइन् । उनलाई हराउँदै थापा पक्षकी कुन्ती शाही महामन्त्रीमा विजयी भइन् । खुल्ला तर्फका दुई महामन्त्रीमध्ये थापा पक्षका भुवन पाठक र लिङ्देन पक्षका धवलशमशेर राणाले विजयी भएका छन् । महामन्त्रीमा लिङ्देन पक्षका श्याम तिमल्सिना पराजित भए भने कमल थापा पक्षका भास्कर पनि पराजित भए ।

‘राप्रपा राजसंस्था र हिन्दू राष्ट्र चाहन्छ । हामी सबै व्यक्ति, समूह, संघसंगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्ने छौँ । र, त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ । जहाँबाट छिटो हुन्छ, त्यतैबाट राजसंस्था स्थापना गछौँ ।’ लिङ्देनले भने । उनले राप्रपाले कमजोरी सच्चाएर कांग्रेस, कम्युनिस्ट पार्टीको विकल्पमात्र होइन, जनताको मन जित्ने पार्टी बनाउने बताए ।

‘राप्रपा ३१ वर्षको इतिहासमा अहिले सर्वाधिक कमजोर अवस्थामा छ’, उनले भने, ‘यो राष्ट्रिय पार्टीको रूपमा समेत छैन । विभाजित हाम्रो पार्टी फेरि हामीले एकीकण ग¥यौँ । एकीकरण गरेको दुुई वर्ष वित्दा पनि हाम्रा नेताहरूले पार्टीमा सुधार र विकासका कुनै संकेतहरू देखाउनु भएन । यो बीचमा ठूलाठूला राष्ट्रिय मुद्दाहरू र घटनाहरू भए त्यस्तो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन । त्यस्तो अकर्मण्य मात्र भएन, बरु उहाँहरू झगडा गरेर बस्नुभयो ।’

विजय भएपछि पार्टीमा एकमत जुटाउन उनलाई पार्टीभित्र सहज स्थिति छैन । पुरानो पुस्ताबाट राप्रपा अघि बढ्न नसक्ने दाबी गर्दै नेतृत्व परिवर्तनको चर्को आवाज उठाएका लिङ्देन नेतृत्वमा पुगेका त छन् । तर, पदाधिकारीमा उनको पक्षमा धवल शमशेर राणा बाहेक अरु सबै पराजित भएपछि उनलाई सोचे जस्तो सजिलो हुने देखिँदैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.