काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) को कक्षा सुरु भएको छ । यससँगै कर्णाली प्रदेशले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ ।
कुनै समय सिटामोलको अभाव हुने कर्णाली अब स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्न सक्षम भएको प्रतिष्ठानका लेखा अधिकृत एवम शैक्षिक प्रशासन प्रमुख इन्द्रराज डाँगी बताउँछन् ।
प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि कुल २० सिट रहेको छ । जसमध्ये १९ जना विद्यार्थी भर्ना भइसकेका छन् । आइतबारदेखि सुरु भएको कक्षामा १५ जना विद्यार्थी छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । बाँकी ५ जनाले भने शुल्क तिरेर अध्ययन गर्ने डाँगी बताउँछन् ।
दशकअघि खलङ्गामा स्थापना भएको प्रतिष्ठानलाई गत जेठ २९ गते सम्पन्न चिकित्सा आयोगको बैठकले एमबिबिएस तहमा २० सिट अध्यापन गराउन स्वीकृति दिएको थियो ।
१९ गतेबाट एमबिबिएस अध्यापन सुरु भएपनि औपचारिक रुपमा उद्घाटन भने २६ मंसिरमा हुने उनको भनाई छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भनिएता पनि औपचारिक पत्र भने आइनसकेको उनले बताए ।
प्रतिष्ठानमा हाल बी फार्मेर्सी, नर्सिङ, विएनएस मिडवाइ फ्रि, चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) र विपिएचको अध्यापन भइरहेको डाँगीको भनाई छ । एमडीका लागि १० जनाको सिट रहेको छ । बाँकी सबैमा क्षेत्रमा २०/२० जनाको सिट रहेको उनको भनाई छ । अध्यापनका लागि हाल प्रतिष्ठानमा विषयगत ८२ चिकित्सक कार्यरत छन् ।
यस प्रतिष्ठानले चिकित्सा शिक्षाको अध्यापनसँगै अस्पताल समेत सञ्चालनमा ल्याइएको छ । तीन सय शैय्याको अस्पतालमा १० शय्याको सघन उपचार कक्ष (आइसीयू) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ ।
अस्पतालमा आवश्यक मेसिनरी सामानको व्यवस्था भएसँगै कर्णालीका जनताले सजिलै उपचार सेवा पाएको शैक्षिक प्रशासन प्रमुख डाँगीको भनाई छ । ‘हाल ८० प्रतिशत विरामीको उपचार यही अस्पतालमा हुने गरेको छ । बाँकी २० प्रतिशत जटिल केसका बिरामीलाई मात्र नेपालगञ्ज रिफर गर्ने गरेका छौं ।’ उनका अनुसार अब कर्णालीका जनता स्वास्थ्य उपचारबाट वञ्चित हुन पर्ने छैन ।
कर्णाली प्रदेशमा दश जिल्ला समेटिएको छ । यो प्रतिष्ठानको स्थापनापछि अधिकांश जनता उपचारका लागि नेपालगञ्ज झर्नुपर्ने बाध्यता हटेको छ । ‘नेपाल सरकारले तोकेको शुल्कमै उपचार हुने भएकोले न्यून शुल्कमै उपचार हुँदै आएको छ, नेपालगञ्ज झर्ने खर्चले उपचार गरेर फर्कन्छन् यहाँका जनता ।’
कुनै समय कर्णालीवासीले सिटामोलको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पताल सञ्चालन गरेपछि कर्णालीवासी समक्ष स्वास्थ्य सेवाको पहुँच पुगेको छ ।
प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्यापनबाट दक्ष जनशक्तिको उत्पादन भएसँगै अस्पतालले भने केही समस्याहरु व्यहोर्दै आइरहेका छन् । डाँगीका अनुसार सडक यातायातको व्यवस्था राम्रो नभएकोले हुम्लाबासी भने उपचारका लागि अझै नेपालगञ्ज नै जान बाध्य छन् । साथै विद्युतको अभावका कारण अस्पतालमा मेसिन सञ्चालन गर्न नसक्दा उपचार समेत गर्न नपाएको उनी बताउँछन् । सरकारले यी कुरामा ध्यान दिने हो भने जनशक्ति उत्पादन गर्न सक्षम कर्णाली स्वास्थ्य उपचारमा समेत अग्र हुने उनी बताउँछन् ।
जुम्लाको सदरमुकाम खलङ्गामा वर्षमा तीन महिना अधिक चिसो हुने हुँदा अस्पतालले प्रदान गर्ने सेवा समेत प्रभावित हुँदै आएको छ ।