अभियान मनाउँदैमा महिला हिंसा अन्त्य हुन्छ र ?

काठमाडौं । ‘घरैदेखि सुरु गरौँ, महिलाविरुद्धको हिंसा अन्त्य गरौँ ।’ यो नारा ३० औँ लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको हो । हरेक वर्ष विश्वभर नोभेम्बर २४ देखि अक्टोबार १०मा यो दिवस मनाइन्छ। यद्यपि नेपालले यो अभियान २०५४ सालयता मनाउँदै आएको छ । वर्ष गणनाका हिसाबले नेपालले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान मनाउन थालेको २४ वर्ष पूरा भएको छ। 

यतिखेर लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान जारी छ । जब लैंगिक हिंसाविरुद्ध अभियानको नारा र पर्चा पम्पलेट देखिन्छन् तब नेपालमा महिला हिंसामा कमी भयो र ? लैंगिक हिंसा अन्त्य भयो र ? पुरुषको वर्चश्व रहेको नेपाली समाजमा महिलाले उन्मुक्ति पाउनसक्ने अवस्था छ र ? पम्पप्लेटको प्रदर्शनीले साँच्चै लैंगिक हिंसा अन्त्य गर्न सघाउँछ ? महिला पुरुष समान हुने दिन आउँलान् ? जस्ता प्रश्न उब्जिन्छन् ।

नेपाली समाजमा ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने कथन छ । यही कथनकै कारण नेपालमा घरेलु हिंसामा पर्ने महिलाको संख्या ठूलो छ । हिंसा सहेर बस्नुहुँदैन भन्ने चेतना भएका एकाध महिलामात्रै हिंसाका उजुरी लिएर प्रहरीसमक्ष पुग्ने गरेका छन् ।

सरकारी आँकडा हेर्ने हो भने प्रत्येक वर्ष दश हजारभन्दा बढी महिला कुनै न कुनै घरेलु हिंसाबाट पीडित छन् । विगत पाँच वर्षयता दशदेखि १४ हजार महिला घरेलु हिंसामा परेको प्रहरीको तथ्याङ्क छ। यो तथ्याङ्क हेर्ने हो भने विगत २४ वर्षयता लैंगिक हिंसा अन्त्य गर्न भन्दै प्रत्येक वर्ष १६ दिनसम्म मनाइने अभियानको उपलब्धि के ?

संस्कार, परम्परा र संस्कृतिको नाममा महिला पुरुषबीच गरिने व्यवहारले समेत महिला हिंसालाई बढावा दिने गरेको छ । मासिक स्रावलाई पापको रूपमा हेरिने समाजमा अन्धविश्वास स्थिर रहनु नौलो कुरा होइन । वंश चलाउन छोरा जन्माउनैपर्ने मानसिकता जीवितै छ । जति नै सुसम्पन्न परिवार भए पनि वंशजको रुपमा छोरीलाई स्वीकार गर्नु फलामको चिउरा चपाउनुसरह भइदिन्छ । जसकारण भ्रूण हत्या नेपाली समाजमा सामान्य भइसकेको छ ।

बोक्सीको आरोपमा जबरजस्ती मलमूत्र खुवाउनु यही अन्धविश्वासको उपज हो । नेपाली समाजमा वर्षेनी बोक्सीको आरोपमा कुटाइ खाने महिला दिदीबहिनी थुप्रै छन् । तर, १६ दिने अभियान चल्दै गर्दा अन्यायमा परेका महिला मानसिक रुपमा विचलित भई त्रासमा बस्न बाध्य छन् ।

महिला हिंसाको अन्त्य गर्न भन्दै नेपाल सरकारले २०७६ लाई लैंगिक हिंसाविरुद्धको अभियान वर्षको रुपमा घोषणासमेत गरे । तर, सोही वर्ष ११ हजार ७३८ घरेलु हिंसाका घटना दर्ता भएको देखिन्छ । साथै सोही वर्ष दुई हजार एक सय ४४ बलात्कारका घटना, बलात्कार प्रयासका ६ सय ८७, बोक्सीको आरोपमा ३४, मानवबेचविखनका एक सय ६४ घटना दर्ता भएको देखिन्छ । प्रत्येक वर्ष महिला हिंसाका घटना बढ्दो क्रममा छ भने यो क्षेत्रमा काम गर्ने संस्थाको संख्या पनि वृद्धि भएको छ ।

नेपालमा विस २०५४ देखि १६ दिने अभियानको सुुरुवात गरेको देखिन्छ । साथै महिला हिंसा रोकथामका लागि थुप्रै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भएका छन् । तर, घटनाको ग्राफ बढ्ने क्रम जारी छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.