सुरक्षित नागरिक आवासमा बेतिथि
अर्काको घरको तस्बिर राखेर लाभग्राही बनेका र दोहोरिएका लाभग्राहीको नाम समावेश भएपछि उनीहरूको नाम हटाएर वास्तविक लाभग्राहीको नाम सिफारिस गरिएको छ ।

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेका र वडा नम्बर ११ खार्मीमा सुरक्षित नागरिक आवास निर्माणको लाभग्राही छनोटमा भएको त्रुटि सच्याइएको छ ।

सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीको सूचीमा हुँदै नभएका, बसाइँ सरिसकेका, अर्काको घरको तस्बिर राखेर लाभग्राही बनेका र दोहोरिएका लाभग्राहीको नाम समावेश भएको खबर सार्वजनिक भएपछि उनीहरूको नाम हटाएर वास्तवित लाभग्राहीको नाम सिफारिस गरिएको छ ।

सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीको सूचीमा हुँदै नभएका व्यक्तिको नाम समावेश भएको, बसाइँ सरेर अन्यत्र गइसकेका, अर्काको घरको तस्बिर देखाउने तथा कतिपय एउटै व्यक्तिको नाम दोहोरिएको भन्दै सर्वत्र आलोचना भएपछि त्रुटि सच्याइएको हो । पाथेकामा हुँदै नभएका खइबहादुर राईको ठाउँमा विधवा तुलसकुमारी राईलाई, अन्यत्र बसाइँ सरिसकेका तुलसी गिरीको सट्टा विधवा बुद्धिसिला राईलाई सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीका रूपमा सिफारिस गरिएको वडाध्यक्ष मुगाधन राईले बताए ।

यस्तै, पाथेकाकै निरकुमार राईको नाम लाभग्राहीको सूचीमा दोहोरो परेपछि त्यस ठाउँमा विधवा इन्द्रकुमारी बिकको नाम थप गरिएको छ । उनीहरूले सम्झौता गरेर काठपात जुटाउन सुरु गरिसकेका छन् । सोही वडामा अरुको घरको तस्बिर पेस गरेर लाभग्राहीको सूचीमा राखिएका दिनेश राईको नाम हटाइएको छ । खर तथा फुसको छाना हटाउने अभियानअन्तरगत नेपाल सरकारले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि पाथेकामा ३५ लाभग्राहीको कोटा तोकिएको थियो ।

खार्मीमा हुँदै नभएको ललितबहादुर श्रेष्ठको ठाउँमा निरकुमारी भुजेललाई सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीका रूपमा सिफारिस गरिएको छ । सुुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि खार्मीका लागि २९ जनाको कोटा निर्धारण गरेको थियो । तर सो सूचीमा हुँदै नभएको व्यक्तिको नाम समावेश भएर आएको वडाध्यक्ष रामचन्द्र राईले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.