काठमाडौं । कलकत्ताको उच्च अदालतले ४० वर्ष जेल जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।
कलकत्ताको उच्च अदालतले इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई सो क्षतिपूर्ति दिन मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले सो आदेश दिएको हो ।
बुधबार अदालतले गरेको आदेशमा भनिएको छ, ‘यो क्षतिपूर्ति दिएका कारण अन्य हक अधिकारबाट कुन्ठित गरिने छैन ।’
महावाणिज्यदूत पौडेलले यो आदेश सकारात्मक भएको जानकारी दिँदै यसले थप क्षतिपूर्तिको माग दाबी गर्न मार्ग प्रशस्त गरेको बताए । जेलबाट रिहा गर्ने बेलामा अदालतले क्षतिपूर्तिको विषयलाई गम्भीरताका साथ उठान गर्दै बंगालको जेल प्रशासनका नाममा आदेश गरेको थियो । सोही अनुरुप जेल प्रशासनले हालै ‘जीवन निर्वाहका लागि तत्काल ५ लाख दिन सकिन्छ’ भनि अदालतलाई जवाफ फर्काएको थियो ।
हत्या अभियोगमा ४० वर्षअघि पक्राउ परेका तिम्सिनालाई गत वर्ष चैतसम्म पश्चिम बंगालका विभिन्न जेलहरूमा राखिएको थियो । बिना सुनुवाइ जेलमा राखिएका तिम्सिनालाई कलकत्ता उच्च अदालतले गत वर्ष रिहा गर्न आदेश दिएको थियो ।
उनी गत वर्ष चैतमा रिहा भएका थिए ।