काठमाडौं । काठमाडौँ या नेपालका कुनै कुनामा घुम्दै गर्दा परबाट कसैले मायाले जय नेपाल भनेर भन्दियोस गगन थापाले भनेका छन् । उनले ‘१०–१५ वर्ष काम गरेर मेरा २०–२१ वर्षका छोरीहरूलाई लिएर हिडेको बेला जनताले मलाई यति मात्र भने पुग्छ । त्यहाँ कुनै नेपाली नागरिकले माया र सम्मान दिए पुग्छ,’ उनले बताएका छन् ।
‘मेरो छोरीहरूलाई लागोस् कि मेरो बा जुन पार्टीमा बसेर काम गरे त्यो कामले कहीँ न कहीँ हामीलाई टेक्ने आधार एउटा बनाइ दियो । यति भइदियो भने म आफ्नो राजनीतिक जीवन सफल भएको ठान्नेछु ।’
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले पार्टीमा क्रियाशील भएर यसमार्फत जनताको जीवनमा बदलाव ल्याउने कुरा महत्त्वपूर्ण भएको बताएका छन् । आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दै उनले जनताको जीवनमा बदलाव ल्याउन सके आफ्नो राजनीतिक जीवन सफल भएको ठान्ने बताएका हुन् ।
उनले भने, ‘म पार्टीको महामन्त्री हुन्छु हुन्न थाहा छैन । पार्टीको राजनीतिक यात्रा पदीय जिम्मेवारीको हिसाबले कहाँ गएर टुङ्गिन्छ त्यो पनि मलाई थाहा छैन । जहाँ गएर टुङ्गियोस् तर अबको १०–१५ वर्ष पार्टीको क्रियाशील सदस्य भएर काम गर्छु ।’