कार्यसम्पाद मूल्यांकनमा सोलुखुम्बु चौथो स्थानमा
सुगम जिल्लाहरुलाईसमेत उछिन्दै कार्यसम्पादनमा चौथो नम्बरमा आउनु खुसीको कुरा भएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए ।

डि.वि.खालिङ
सोलुखुम्बु । गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु चौथो नम्बरमा पर्न सफल भएको छ । गृह मन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मुल्यांकनको नतिजामा सोलुखुम्बु चौथो नम्बरमा परेको हो ।

हिमाली जिल्ला सोलुखुम्बु भौगोलिक कठिनाइका बावजुत देशभरका अन्य सुगम जिल्लाहरुलाईसमेत उछिन्दै कार्यसम्पादनमा चौथो नम्बरमा आउनु खुसीको कुरा भएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए ।

भौगोलिक विकटताकाबीच आफूले गरेको कार्यसम्पादनको आधारमा गृहले गरेको मुल्यांकनले आगामी दिनको कार्यसम्पादनमा थप उत्साह थपेको प्रजिअ शाहीको भनाइ छ ।

शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र आर्थिक अनुशासनको आधारमा कार्यसम्पादन मूल्यांकन नतिजा निकालिएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गृह मन्त्रालयमा कार्यरत शाही ५ कात्तिक २०७७ देखि सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी जिम्मेवारी सम्हाल्दै आएका छन् । आफु आएदेखि नै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन लगायतका विषयलाई थप प्राथमिकताका साथ हेरेको प्रजिअ शाहीको दाबी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.