को हुन् त गलादेशविरुद्ध डेब्यु गर्ने चार खेलाडी ?
बंगलादेशी महिला फुटबल टोलीविरुद्ध दुई मैत्रीपूर्ण खेल अन्तर्गत बिहीबार साँझ भएको पहिलो खेलमा नेपाल विजयी भएको छ ।

काठमाडौं । बंगलादेशी महिला फुटबल टोलीविरुद्ध दुई मैत्रीपूर्ण खेल अन्तर्गत बिहीबार साँझ भएको पहिलो खेलमा नेपाल विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दा डेब्यु खेलाडी प्रीति राई र सविता राना मगर नायक रहे । नेपालका लागि दुबै गोल डेब्यु खेलाडी मगर र राईले गरेका हुन् । बंगलादेशका लागि तोहुरा खातुनले सान्त्वना गोल गरिन् ।

खेलको १४ मिनेटमा सबिताले नेपाललाई अग्रता दिलाइन । सबिताले राइट विंगर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडी बढेको फाइदा उठाउदै सबिताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् ।

खेलको २४औँ मिनेटमा १६ वर्षीया युवा खेलाडी प्रीतिले डेब्यु गोल गरिन् । प्रीतिले मिडफिल्डर सरु लिम्बुको पास सदुपयोग गर्दै डिबक्स नजिकैबाट सुन्दर गोल गरेकी थिइन् । उनको गोलसँगै नेपाल पहिलो हाफमा २–० को अग्रता बनायो ।

बंगलादेशकी खातुनले ८१औँ मिनेटमा गरेको प्रहार नेपाली डिफेण्डर अमृता जैसीलाई छुँदै गोल भएको थियो ।

बंगलादेशसँगको मैत्रीपूर्ण र आगामी एएफसी महिला कप छनोट खेलका लागि प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । जसमा सात नयाँ अनुहार छन् ।

प्रशिक्षक फिलिप्स ग्यारीले बंगलादेशिवरुद्ध नेपालको प्लेइङ सेटमा सबिता र प्रीतिलाई डेब्यु गराएका थिए । उमेर समूह यू–१५ र १९ टोलीबाट खेलिसकेका प्रीति र सवितासहित सृजनासिंह ठकुरी र रस्मी घिसिङले दोस्रो हाफमा डेब्यु गरे ।

को हुन् राष्ट्रिय टोलीबाट डेब्यु गर्ने ४ खेलाडी

प्रिती राई
पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी मिडफिल्डर प्रितीले पहिलो अवसरमै डेब्यु गरिन् । त्यो पनि प्लेइङ सेटमा । अझ डेब्यु गोल पनि । सावित्रा भण्डारी चोटका कारण मैदान उत्रन नसकेपछि प्रीतिले अवसर पाएकी थिइन् । उनले खेलको २४औँ मिनेटमा गोल गर्दै नेपाललाई २(० को अग्रता दिलाएकी थिइन् । पूरा समय खेलेकी प्रीति खेलको प्लेअर अफ दि म्याच चुनिइन् ।

गत राष्ट्रिय लिगमा एपीएफबाट खेलेकी प्रिती दोस्रो प्रयासमा राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । लिगमा उनले दुई गोल गरेकी थिइन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम प्रशिक्षणमा रहेकी प्रिती भुटानमा भएको साफ यू–१५ खेल्न पुग्दा राष्ट्रिय टोलीमा स्थान बनाउन सकिनन् । काठमाडौं निवासी प्रिती उमेर समूह यू–१५ को कप्तान हुन् । उनले यू–१९ टोलीबाट समेत खेलेकी छिन् । प्रिती हालको राष्ट्रिय टोलीको कान्छी सदस्य हुन् ।

सविता राना मगर
पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी सविताले प्रशिक्षक ग्यारी फिलिप्सको मन जित्न सफल भइन् । राइट विंगरको भूमिकामा प्रशिक्षण गरेकी सविताले अनूभवी अनिता बस्नेतलाई पछि पार्दै राष्ट्रिय टोलीमा स्थान बनाएको पहिलो अवसरमै डेब्यु गरिन । उनले पनि प्लेइङ सेटमै खेलिन र डेब्यु खेलमै गोल गर्दै नेपाललाई १(० को अग्रता दिलाइन् । खेलको १४औँ मिनेटमा लेफ्ट विंगर विमला चौधरीले मिलाएको पासलाई सविताले हेडिङमार्फत बललाई जाली चुमाइन् ।

राष्ट्रिय लिगमा रौतहटको चन्द्रपुर नगरपालिकाबाट खेलेकी साविताले चौदण्डीगढीविरुद्ध ह्याट्रिकसहित चार गोल गरेकी थिइन् । सविताले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । उनले दोस्रो अवसरमा टोलीमा स्थान पाएकी हुन् । सविताले उमेर समूहमा नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलेकी छिन् ।

सृजनासिंह ठकुरी
प्रशिक्षक ग्यारीको नेतृत्वमा डेब्यु गर्ने तेस्रो खेलाडी बनिन् सृजना । दोस्रो हाफमा लेफ्ट ब्याक हिरा भुजेल चोटका कारण मैदान उत्रिन नसकेपछि सृजनाले डेब्यु मौका पाएकी हुन् । सुर्खेतकी सृजनाले डेब्यु खेलमा आठ मिनेट खेलिन्।

विराटनगर महानगरपालिकाबाट राष्ट्रिय लिगमा प्रतिनिधित्व गरेकी डिफेण्डर सृजना पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । पश्चिम नेपालकी डिफेण्डर सृजनाले पहिलो अवसरमै राष्ट्रिय टोलीबाट डेब्यु पाइन् । उमेर समूहमा सृजनाले नेपालको यू–१९ टोलीबाट खेलेकी छिन् ।

रस्मी घिसिङ
त्रिभुवन आर्मी फुटबल क्लबकी रस्मीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । दोस्रो पटकमा राष्ट्रिय टोलीमा स्थान पाएकी उनी प्रशिक्षक ग्यारीको नेतृत्वमा डेब्यु गर्ने चौथो खेलाडी बनिन् । रस्मी खेल सकिन पाँच मिनेट अघि मन्जलीकुमारी योन्जनको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

गत लिगमा रस्मीले एक ह्याट्रिकसहित ६ गोल गरेकी थिइन् । मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बाुचोटका कारण टोली बाहिर रहेसँगै रस्मीलाई अट्याक लाइनमा प्रमाणित गर्ने अवसर थियो । तर, उनले अवसर भने कम पाइन ।

रौतहटकी रस्मीले उमेर समूहमा नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलिसकेकी छिन् ।

पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका निशा थोकर, रजनी थोकर र विमला विकले भने पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु पाएनन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.