मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विजयी, घरेलु मैदानमा
स्टार खेलाडी लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ ।

काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ । शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको ३ गोलसँगै बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरेका हो ।

बार्सिलोनाबाट यसै सिजन पेरिस सेण्ड जर्मन (पिएसजी) पुगेका मेस्सीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेका थिए । कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनाले घरेलु मैदानमा पहिलो खेल खेलेको हो ।

मेस्सीले १४,६४ र ८८औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे । पहिलो गोल मेस्सीले लियान्द्रो पराडेजको पासमा गरेका थिए । दोस्रो गोल एकल प्रयासमा सम्भव भयो भने तेस्रो गोल बोलिभियाको गोलरक्षकको रिबाउण्डमा सम्भव भएको थियो ।

जितसँगै कतार विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । पहिलो स्थानमा ब्राजिल छ । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वेसङ तीन अंकको अग्रता बनाएको हो । बिहान भएको अर्को खेलमा उरुग्वेले इक्वेडरलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.