एमालेका २८ जनप्रतिनिधिले रोजे नेकपा एस
निर्वाचित जनप्रतिनिधिलाई २२ भदौसम्म आयोगले दल रोज्ने अधिकार दिएसँगै उनीहरूले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

उदयपुर । उदयपुरमा एमालेबाट निर्वाचित दुई सय १० जना जनप्रतिनिधिमध्ये २८ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले तोकेको समयसीमाभित्र २८ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । सनाखत गरेका सबै तत्कालीन एमालेको सूर्य चिह्नबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

निर्वाचित जनप्रतिनिधिलाई २२ भदौसम्म आयोगले दल रोज्ने अधिकार दिएसँगै उनीहरूले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । नेकपा एस रोजेका जनप्रतिनिधिमध्ये एक नगरपालिका र एक गाउँपालिकाका प्रमुख, पाँचजना वडाध्यक्ष, एकजना जिल्ला समन्वय समितिका सदस्य र बाँकी २० जना वडा सदस्य छन् । सनाखत गर्नेमा त्रियुगा नगरपालिका नगर प्रमुख तथा केन्द्रिय सदस्य बलदेव चौधरी र उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर छन् ।

त्यसैगरी वडाध्यक्षहरुमा त्रियुगा नगरपालिका ३ का अबधेशप्रसाद चौधरी, १३ का पशुपति चौधरी, उदयपुरगढी गाउँपालिका– ७ का कर्णमाया मगर, कटारी नगरपालिका– ९ का बेगबहादुर आले मगर र लिम्चुङबुङ गाउँपालिका– ५ का केशरकुमार खड्का, उदयपुरगढीका कार्यपालिका सदस्य थमान विश्वकर्मा र जिल्ला समन्वय समिति सदस्य चिनवीर दनुवार छन् ।

वडा सदस्यतर्फ त्रियुगा नगरपालिका २ का श्यामनारायण चौधरी, ३ का भगवानदास चौधरी, ६ का जयराम पंजियार, ९ का खिलबहादुर कार्की, ११ का शकुन्तला विश्वकर्मा र १२ का प्रथमलाल चौधरी छन् । त्यस्तै उदयपुरगढीका २ का सोममाया गजमेर, ४ का यमबहादुर मगर, ५ का पेशलकुमार राई र अम्बरबहादुर लायो मगर र ७ का धमला विक रहेका छन् ।

कटारी नगरपालिका– ९ का प्रेमबहादुर थापा मगर, दिपक थापा, गीताकुमारी सार्की र निर्मला खपाङगी मगर, ३ का गोपाल सापकोटा, ४ का हृदयबिक्रम तामाङ, चौदण्डीगढी नगरपालिका– ९ का विलकुमारी चौधरी र लिम्चुङबुङ गाउँपालिका– ३ का गुरुमणि कुमाइँ छन् ।

उदयपुरको ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ स्थानीय तहमा ७५ वटा वडा रहेकोमा एमालेबाट नगर प्रमुख संख्या ३, उपप्रमुख २, गाउँपालिका प्रमुख ३, उपप्रमुख ३, वडाध्यक्ष ३१ जनाले जितेका थिए । त्यसैगरी जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखसहित सबै एमालेबाट जितेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.