सभापति हार्दै देउवा

काठमाडौँ ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको छ । यतिबेला मतदान भइरहेको छ । अहिले ६ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।

मतदान गर्नका लागि ११ सय वटा मतपेटिका प्रयोग गरिएको छ । मतदानका लागि ३ वटा मतदान स्थल प्रयोगमा छन् । कांग्रेसका मतदान प्रतिनिधि ४ हजार ७ सय ४३ जना छन् ।

नेपाली कांग्रेसको सभापति पदका लागि निवर्तमान सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवासहित ६ जना प्रतिष्पर्धामा छन् ।

सभापतिका लागि मुख्यत: शेखर कोइराला कोइराला, प्रकाशमान सिँह, विमलेन्द्र निधि प्रतिष्पर्धामा छन् ।

कांग्रेसको सभापतिमा यो पटक विजयी हुनै पर्ने दवावमा छन् देउवा । उनलाई यो दवाव प्रधानमन्त्री भइरहनका लागि पनि छ । 

यदि उनले सभापतिमा हारे भने संसदीय दलको नेता हुन देउवालाई गाह्रो छ । संसदीय दलको नेता नरहेको व्यक्ति प्रधानमन्त्री हुन योग्य नरहने कांग्रेसको विधानमा उल्लेख छ ।

देउवालाई सभापतिमा कांग्रेसका नेता कृष्ण सिटौलाको साथ छ । तर, सिटौलाले सभापति हारेको प्रधानमन्त्रीले कस्तो निर्वाचन गराउलान भनि अभिव्यक्ति दिएका छन् । उनको यो अभिव्यक्तिले देउवा सभापति पदका लागि रक्षात्मक अवस्थामा रहेको सहजै अनुमान गर्न सकिन्छ । अहिलो देउवा समूहमा सिटौला समूहको वर्चश्व रहेको देखिएको छ । जसलाई देउवाले व्यवस्थापन गर्न सकेका छैनन् । यही वर्चश्वको प्रभाव स्वरुप प्रदिप पौडेल महमन्त्रीको उम्मेदवार हुन सफल भएका हुन् ।

देउवाका निकट सहयोगी रहेका नेता बालकृष्ण खाँडले पनि यस्तै अभिव्यक्ति दिएका छन् । ‘पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भएमा दुईवटा शक्ति केन्द्र स्थापना हुन्छ, त्यो द्वन्द्वले सरकारलाई पनि पार्टीलाई पनि असर पर्छ’ उनले भने, ‘अहिलेको अवस्थामा शेरबहादुर देउवालाई नै सभापतिमा निर्वाचित गर्न सक्यौं भने पार्टीभित्रको शक्ति सन्तुलन पनि मिल्छ, पार्टी एकता पनि हुन्छ, अन्य राजनीतिक दलको भरोसा र विश्वासमा यही सरकारले आउने निर्वाचनहरु पनि सम्पन्न गर्छ ।’ उनी निकट नेताहरुले रक्षात्मक अभिव्यक्ति दिन सुरु गरेका छन् । नेताहरुको यस्तो अभिव्यक्तिमा प्रतिनिधिलाई देउवालाई मत हाल्न दवाव दिने रणनीति पनि अन्तरनिहित छ । साथै प्रतिनिधिलाई अगामी निर्वाचन जित्ने हो भने देउवालाई सभापति बनाउन आवश्यक रहेको सन्देश दिन खोजिएको छ । यसरी धुमाउरो शैलीमा शक्तिको दुरुपयोग गर्न खोजेको आभास हुन्छ ।

उनले निर्वाचन हार्न सक्ने अरु पनि कारण देखिएको छ । लामो समय उनको सहयोगी रहेका विमलेन्द्र निधि पनि सभापति पदका उम्मेदवार छन् । निधि प्रदेश नम्बर २ मा राम्रो मत भएका नेताका रुपमा मानिन्छन् । निधिले देउवा समूहको मत पनि चोर्न सक्ने अवस्था छ । लामो समय देउवा समूहमा रहेका निधिको यो समूहका नेता कार्यकर्तासँग राम्रो सम्धन्ध छ । यसको असर देउवाले भोग्न पर्ने हुन सक्छ । महेन्द्र नारायण निधिका छोरा भएकाले पनि उनलाई सहानुभूतिको मत आउने छ । महेन्द्र नारायण निधि कांग्रेसका महामन्त्री भएका नेता हुन् । यो सुविधा देउवालाई छैन ।

कांग्रेस स्थापनाका संस्थापक गणेशमान सिँहका छोरा प्रकाशमान सिँह पनि यो पटक सभापति पदमा उम्मेदवार छन् । उनलाई गिरिजा प्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाको पनि साथ छ । कांग्रेसमा कोइराला परिवारको योगदान छ । यो भन्दा पनि गिरिजाप्रसाद कोइरालाको योगादन नेपाली बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि महत्वपूर्ण रहेकोले पनि सुजाता कोइरालालाई मतदाताले दरकिनार गर्न सक्ने अवस्था नहुन सक्छ ।

प्रकाशमान सिँह उपत्यकामा बलियो पकड भएका नेता हुन् । उनले उपत्यकाको मत आफ्नो पक्षमा सुरक्षित गर्दा यसको असर देउवालाई पर्नेवाला छ । यसकारण पनि देउवाको सभापति जित्ने सम्भावना क्षण भएको हो । उपत्यकाका सबै जिल्ला सभापति सिँह निकटका छन् । सिँहको उम्मेदवारी सभामा नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । सभामा कांग्रेस नेताहरु सुजता कोइरला, पूर्वमन्त्री राजन केसी, दिव्यमणी राजभण्डारी, वागमति प्रदेशका उपसभापति मोहन बस्नेत, वागमति प्रदेशका महामन्त्री कन्चनचन्द्र राधे, वागमतिको सहमहामन्त्री जीवन डङगोल, जितेन्द्रकुमार श्रेष्ठ ललितपुर सभापति, जगदिश्वर नरसिँह केसी पूर्वनुवाकोट सभापति, दिपक कुइकेल, राज्यलक्ष्मी श्रेष्ठ, छिरिङदोर्जे लामा, राजेन्द्र गुरुङ, माननीय पुकार महर्जन सहभागी छन् ।

सभापति घोषणा सभामा अग्नि पौडेल, हरीकुमार राई, अन्नत कुमार गौले, अजितकुमार सिहं, हिमालय कर्मचार्य, नरेश श्रेष्ठ गोकर्ण केसि, कल्यानी रिजाल, केशव श्रेष्ठ, रुद्र शर्मा, भुवन श्रेष्ठ, गोविन्द बुढा सैनी, गणेशमान, रोमेल श्रेष्ठ, विष्णु राई, नरेश श्रेष्ठ, राजकुमार नकर्मी, अमिता प्रधान, प्रकाश राणा कविर शर्मा, सन्तोष चालिसे, श्याम खड्का, मुकुन्द रिजाल, राजेश श्रेष्ठ जयकिशन श्रेष्ठ, विष्णु पुडासैनी, निलकाजी शाक्य, जीवन श्रेष्ठ, देश बहादुर कार्की भक्तपुर सभापति लगायतका दुई दर्जन नेताको साथ रहेको देखिएको थियो ।

लामो समय देउवाको सहयोग रहेका झापाका चर्चित नेता विश्वप्रकाश शर्माको साथ पनि प्रकाशमान सिँहसँग छ । राजनीतिमा विश्वप्रकाश शर्मालाई भावी नेतृत्वका रुपमा समाजमा चर्चा गरिए पनि देउवाले उनको टिम शर्मालाई समेट्न सकेनन् । यसको असर पनि उनलाई पर्ने देखिन्छ । शर्मा अभिव्यक्ति क्षमता भएका नेताका रुपमा कांग्रेसीजनमा चिनिएका छन् । शर्मालाई देउवा समूहले अन्तिममा आएर दिएको धोका निर्वाचनमा पनि देखिन सक्नेछ ।

प्रकाशमान सिँह र विमलेन्द्र निधिले सभापति पदमा देउवालाई टक्करको फाइदा यो पटक शेखर कोइरालालाई हुने देखिएको छ । शेखर कोइराला निकै लामो सयमदेखि सभापति उठ्ने तयारीमा थिए । उनले उपत्यका बाहिरका कांग्रेसीजनमा राम्रो पकड बनाउँदै आएका थिए ।  

शेखर कोइरालालाई वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि साथ सहयोग छ । उनलाई निर्वतमान महामन्त्री तथा वीपी कोइरालाका पुत्र शशांक कोइरालाको साथ रहनु बलियो पक्षका रुपमा रहेको छ । आम मतदाताको रुझान कोइराला परिवारप्रति कमजोर भइसकेको छैन । अहिले पनि कांग्रेसमा कोइराला परिवारप्रति कांग्रेसीजनको मोहभंग भइसकेको अवस्था छैन । यसकाे असर अहिले देउवालाई पर्ने देखिन्छ ।

पहिलो चरणमा देउवा र शेखरबीच चुनवी प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । दोस्रो चरणको चुनावमा निधि र सिँहले कोइरालालाई सहयोग गर्ने अवस्था बन्ने सहज अनुमान गरिएको छ । जसले गर्दा शेखर कोइरालाले देउवालाई सभापतिमा पल्टाउने सम्भावन छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.