काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको छ । सभापतिको उम्मेद्वार रहेका देउवाले २ हजार २ सय ५८, शेखर कोइरालाले १ हजार ७ सय २, प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ५० र कल्याण गुरुङले २२ मत पाएका छन् ।
पहिलो चरणको मतदानमा कुनै उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । दोस्रो चरणको निर्वाचनमा दुई जना मात्र उम्मेद्वार हुने कांग्रेसको विधानमा व्यवस्था छ । यही व्यवस्था अनुसार अब दोस्रो चरणको उम्मेद्वार शेरबहादुर देउवा र शेखर कोइराला मात्र हुनेछन् ।
शेरबहादुर देउवाले बाँकी सभापतिका उम्मेद्वारालाई आफ्नो पक्षमा लिने प्रयास गरिरहेका छन् । देउवाले गणेशमान पुत्र प्रकाशमानलाई आफूसँग राख्न प्रयास जारी राखेका छन् । प्रारम्भमा कुराकानी देउवाले प्रकाशमानको सहमति लिन सफल भएका छन् ।
मंगलबार बिहान चाक्सीबारीमा भएको देउवा सिंह दुवै नेताबीच लिखित सहमति भएको छ। प्रकाशमानले शेखर कोइरालालाई दोस्रो चरणको मतदानमा सहयोग गर्ने सबैको अनुमान थियो । यो अनुमान यस कारण पनि गरिएको थियो कि सिँहसँग गिरिजा पुत्री सुजाता कोइराला पनि उनीसँग थिइन् । उनको भूमिका शेखरलाई सहयोग गर्नेमा हुने धेरैले अनुमान गरेका थिए । तर अन्तिममा सिँहले देउवालाई सहयोग गर्नुमा शक्तिकेन्द्रको चलखेल भएको चर्चा बजारमा चुलिएको छ ।
सिँहले शेखर कोइरालाले रामचन्द्र पौडेललाई छोडेमा आफूले पनि पौडेललाई छोड्ने जनाएका थिए । सिँह लामो समय देउवाइतर समूहमा रहेर सक्रिय रहेका थिए । काठमाडौँ उपत्यकामा राम्रो पकड भएका सिँहले दोस्रो चरणमा देउवालाई समर्थन गर्ने पक्का भएपछि जित देउवाको पक्षमा जाने पक्का भएको छ ।
सभापतिका अर्का उम्मेद्वार विमलेन्द्र निधिले पनि सभापतिको दौडमा देउवालाई समर्थन गर्ने देखिएको छ । देउवालाई निधिले वचन दिइसकेका छन् । निधि मधेशमा कांग्रेसका खम्बा हुन् । उनको पुरानो विरासत पनि छ । महेन्द्र नारायण निधिका छोरा भएकाले पनि उनलाई कांग्रेसमा सजिलो छ ।
लामो समय देउवासँग रहेका निधिले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेर मैदानमा उत्रिएका हुन् । तर, उनको सम्बन्ध सबै देउवासँग नै रहेको भएपनि सम्बन्ध सरल रेखामा देखिएको थिएन । देउवासँग निकट सम्बन्धमा रहेका भएपनि निधिले देउवालाई सहयोग गर्नुमा उनको मात्र निर्णय जिम्मेवार छैन । उनको निर्णयमा बाह्य संलग्नता समेत रहेको हन सक्ने अनुमान गर्नु अन्यथा हुँदैन ।
यहाँ अर्को पक्ष पनि छ । यो के हो भने कोइराला परिवारमा शेखरको उदयले कोइराला परिवारभित्र नै डाहा भावना विकास गरेकाे देखिन्छ । शशांक कोइरालाले शेखरबारे प्रष्ट धारणा किन राखेनन् भन्ने प्रश्न उठेको छ । उनले शेखर कोइरालालाई भेट माग्नु पर्ने सहज अनुमान गरिएकाेमा यस्तो हुन सकेन । यस्तो नहुनुमा देउवा पक्षले खेलेको अनुमान गर्नु अन्यथा हुँदैन । बेला बखत शशांकको देउवालाई समर्थन रहेको हल्लाको प्रतिवाद किन उनले गरेनन् । यसपक्ष साेचनीय छ । यस्ता अस्वाभाविक लाग्ने विषयको पछि कुनै शक्ति केन्द्रको चलखेल भएको हुन सक्ने कुरा कांग्रेसीहरुले व्यक्त गर्न थालेका छन् ।