पूँजी बजारमा प्रचण्ड प्रभाव

काठमाडौँ ।  'एकाधिकार पूँजीवाद या संसोधनवादसमेत पनि त्यहाँ जोडिएर त्यो कहाँ गयो त भन्दा चाहिँ त्यो वित्तीय एकाधिकार पूँजीवादमा, भुमडलीकृत वित्तीय एकाधिकार पूँजीवादमा गयो । यो भुमडलीकृत वित्तीय एकाधिकार पूँजीवाद न लेनिनले न माओले देख्न, विश्लेषण गर्न, अध्ययन गर्न पाउनु भयो । त्यो जिम्मा हाम्रो काँधमा आयो ।

अहिलेका २१ औँ शताव्दीका कम्यनिष्टहरु, मार्क्सवादीहरु या बुद्धिजीवीहरु, क्रान्तिकारीहरुको जिम्मामा यो वित्तीय एकाधिकार पूँजीवाद भनेको के हो, यसको चरित्र कस्तो हुन्छ, यसलाई परास्त कसरी गर्ने हो, भन्ने जिम्मा चै तपाई हाम्रो काँधमा छ ।

वित्तीय एकाधिकार पूँजीवादभन्दा यसको मुख्य चाहिँ के हुन्छ भने पहिला पहिला पूँजीको लगानी चाहिँ उद्योगमा हुन्थ्यो । उत्पादनमा लगानी हुन्थ्यो । त्यहाँबाट आउने नाफा चाहिँ पूँजीपतिहरुले लिन्थे । आजभोलि पूँजीको लगानी उत्पादनमा हुँदैन । मुख्य रुपमा पूँजीको लगानी पूँजीमै हुन्छ । पूँजीको लगानी पूँजीमा हुने वित्तीय पूँजीवादको मुख्य विशेषता त्यो भएर देखापर्‍यो ।

अहिले तपाई हेर्नु भयो भने यो धितोपत्र बोर्ड, सट्टा बजार, आइएमएफ, वर्ल्ड बैक, एसियाली बैक यी तपाई हामीले हेर्दा त यी बैक हुन पैसा यताउता गर्छन भन्छौँ होइन त्यति सजिलो । यो साम्राज्यवादका विकासित रुपहरु हुन् ।

यो वित्तीय एकाधिकार पूँजीवादलाई अगाडि बढाउने, त्यसलाई बलियो बनाउने र नाफा सोरेर संसारका केही सीमित पूँजीपतिहरुको हातमा संसारका धन एकठ्ठा गर्ने र विश्वाका अत्यधिक धेरै ८० प्रतिशत जनसंख्यालाई भोको नांगो राख्ने प्रणाली हो यो ।' प्रचण्डले नेकपा माओवादीको प्रदेश सम्मेलनमा दिएको सम्बोधन हो यो ।

यो सम्बोधनको असर उनका कार्याकर्तामा कति पर्ने हो यसको हिसाब त राष्ट्रिय सम्मेलनमा देखिनेवाला नै थियो । तर यसको असर सम्मेलनभन्दा अगाडि नै देखियो । जसले गर्दा पूँजी बजार घट्न गयो । सम्बोधनलाई नै आधार मानेर पूँजी बजार घट्न पर्ने नै चाहिँ थिएन् । सेयर बजार घटेपछि अर्थमन्त्रीले बजारबारे बोल्न पर्ने अवस्था आयो । जसको असर आजकाे बजारमा परेको छ । आज बजार उकालो लागेर दैनिक कारोबार नै बन्द हुने अवस्था बन्यो ।

यसले के देखाएको छ भने नेपालको पूँजी बजार सैद्धान्तिक रुपमा कमजोर धरातलमा उभिएको छ । प्रचण्डले भने जस्तो नेपालको पूँजीको मूल प्रवाह वित्तीय पूँजीवादमा रुपान्तरण भएको भने अवश्य हो । घर जग्गा र पूँजी बजारले नेपालको उद्योगधन्धामा पूँजीको प्रवाहलाई नरोकेको भने होइन । यसको असर रोजगारी परेको छ । जसकारण दैनिक विदेशिनेको संख्या हजारमा छ ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.