योग्य पिताका अयोग्य पुत्र प्रकाशमान सिंह

‘हामी नेतृत्व परिवर्तन हुनुपर्छ भनेर सुजाता, विश्वप्रकाश र मैले निर्वाचनमा भाग लिएका हौँ । तर, बहुमत प्रतिनिधिले देउवालाई स्वीकार गरे । त्यही भएर म शेरबहादुरको पक्षमा छु ।’

यो अभिव्यक्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट रहेर उनीविरुद्ध सभापति पदमा उत्रिएर पराजय भएका गणेशमान पुत्र प्रकाशमान सिंहको हो । 

यसअघि कांग्रेस पार्टीमा उपसभापति र महामन्त्रीको जिम्मेवारी सम्हालेका सिंह १४औँ महाधिवेशनका क्रममा नेतृत्व (शेरबहादुर)को कार्यशैलीप्रति असन्तुष्ट रहँदै उनै देउवालाई हराउन चुनावी मैदानमा थिए । 

त्यतिले मात्र नपुगेर नेपाली राजनीतिमा त्यागी नेताको छवि बनाएका आफ्ना पिताको नामसमेत लिँदै आफूलाई पनि त्यागी नेताको रुपमा प्रस्तुत गर्दै आएका थिए । यद्यपि उनको यो अभिव्यक्ति र कार्यशैलीबारे आगामी दिनमा मूल्यांकन हुँदै जाला । 

प्रतिस्पर्धाका क्रममा न्यूनतम मत प्राप्त गरेका सिंह एकाएक देउवाको कित्तामा पुग्नुलाई उनको राजनीतिक अडानसँग जोडिएर हेरिएको छ ।

हामीले यो सामग्री तयार पार्दासम्म सिंह यसअघि आलोचना गरेका पात्र देउवालाई मतदान गर्न अपिल गर्दै भृकुटीमण्डपमा शेरबहादुरको साथमा छन् । 

व्यक्तिगत रुपमा उनी सक्षम भएकै कारण उनी यसअघि नेपाली कांग्रेसजस्तो प्रतिस्पर्धी पार्टीको उपसभापतिसम्म बने । तर, यसको पछि उनका पिता गणेशमानको राजनीतिले निकै भूमिका खेलेको छ । 

यसअघि सभापतिको पदमा उम्मेदवार दिनुअघि पनि उनले आफ्ना पिताको मूल्य र मान्यता अनुरुप आफू अघि बढेको बताउँदै आम प्रतिनिधिले पनि तपाईं र तपाईंका पिताको योगदान यत्रो छ, तपाईं पनि अघि बढ्नूस् भनेकाले आफू सभापतिमा लड्न लागेको बताएका थिए । 

गणेशमान सिंह नेपाली कांग्रेस स्थापनादेखि सक्रिय भूमिका निर्वाह गरेका व्यक्ति हुन् । आजीवन नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी दरबारबाट प्रधानमन्त्री पदका लागि अफर आउँदा पनि प्रधानमन्त्री नबनी निष्ठाको राजनीति गरेका व्यक्ति हुन् । 

तर, पितको यही निष्ठाको आडमा नेपाली राजनीतिक वृत्तमा रहेका पुत्र सिंहले आफ्नो विचारलाई अडिग राख्न सकेनन् । जसको परिणास्वरुप यसअघिको उनको योग्य पिताका योग्य पुत्रको छवि अब योग्य पिताका अयोग्य पुत्रमा परिणत भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.