काठमाडौं । ओपनर डेबिड वार्नर र मार्नुस लाबुसेनले समान ९५ रन बनाएपछि एसेस टेस्ट शृंखलाको दोस्रो टेस्टको पहिलो दिन अस्ट्रेलिया बलियो स्थितिमा पुगेको छ ।
एड्लेइडमा जारी दिवा–रात्री टेस्टको पहिलो दिन सकिँदा अस्ट्रेलिया २२१–२ को स्थितिमा छ । पहिलो दिन सकिँदा अस्ट्रेलियाका लाबुसेन ९५ र कप्तान स्टिभ स्मिथ १८ रन बनाएर क्रिजमा छन् ।
स्मिथले २०१८ मार्चपछि पहिलोपटक अस्ट्रेलियाको कप्तानी सम्हालेका हुन् । नियमित कप्तान प्याट कुमिन्स कोभिड–१९ प्रोटोकलका लागि दोस्रो टेस्ट गुमाउने भएपछि स्मिथले कप्तानको जिम्मेवारी पाएका हुन् ।
टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनर वार्नरले ११ चौकासहित ९५ रन बनाए । उनी बेन स्टोक्सको बलमा स्टुवार्ट ब्रोडमार्फत क्याच भएका हुन् । अर्का ओपनर मार्कुस ह्यारिस भने तीन रनमा पवेलियन फर्किएका थिए ।
त्यसपछि वार्नर र लाबुसेनले दोस्रो विकेटका लागि १७२ रनको साझेदारी गरेका थिए ।
इङ्ल्यान्डका ब्रोड र स्टोक्सले एक एक विकेट लिए । ब्रिसबेनमा सम्पन्न पहिलो टेस्टमा अस्ट्रेलिया ९ विकेटले विजयी भएको थियो ।