पर्यटन मन्त्री आलेको कुरा नसुनेपछि पर्यटन बोर्डका सिइओ निलम्बित, नन्दिनीलाई दिइयो कार्यवाहक 

काठमाडौं । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी निलम्बीत भएका छन् । शुक्रवार पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उनीमाथि छानविन गर्न समिति बनाएपछि उनी निलम्बनमा परेका हुन् । 

छानविन समितिमा उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय हुने छन् । समितिमा दुई सदस्य मन्त्रालयबाट तोकिने जनाएको छ । बोर्डका सिइओ रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

१५ दिनभित्र समितिले छानविनको प्रतिवेदन बुझाउनुपर्नेछ । त्यतिबेलसम्मका लागि रेग्मीलाई निलम्बन गरिएको हो । सो अवधीका लागि समितिले नन्दिनी थापालाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकी छन् । छानविनको क्रममा रेग्मी दोषी देखिए उनी कारवाहीमा पर्नेछन् । 

विमानस्थलमा अध्यागमनको घटना के हो ?
पर्यटन बोर्डका सिइओ डा.धनन्जय रेग्मी विदेशबाट स्वदेश फर्कदा साथमा ६ बोटल रक्सी लिएर आएका थिए । भन्सारमा रक्सीको विषयमा सामान्य विवाद हुँदा उनले कर्मचारीमाथी अभद्र व्यवहार गरेको मन्त्रालय स्रोतले दावी गरेको छ । त्यस लगतै पर्यटन मन्त्री प्रेम आलेले उनलाई स्पष्टीकरण सोधेका थिए । 

त्यतिले मात्रै नपुगेर समिति नै बनाएर उनी माथी छानविन गर्न लागिएको हो । उनले भने मन्त्री आलेले व्यक्तिगत रुपमा भनेका निर्णयहरु नमान्दा आफुलाई अनावश्यक छानविन गर्न लागेको दावी गरेका छन् । पछिल्लो समय मन्त्री आले र सिइओ रेग्मीबीच सम्बन्ध चिसिएको थियो । रेग्मीको कार्यकाल दुई बर्ष बाँकी छ । 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.