काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशन समापनको संघारमा छ । अहिले केन्द्रीय सदस्यको बाहेक अन्य पदाधिकारीको मतपरिणाम आइसकेको छ ।
यस पालीको महाधिवेशनमा केही नयाँ अनुहार आए भने केही पुरानै अनुहार दोहोरिएका छन् । महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माबाट नेपाली कांग्रेसका प्रतिनिधिले ठूलो अपेक्षा राखेका छन् ।
१४ औं महाधिवेशनसम्म आइपुग्दा ८ जना कांग्रेसमा सभापति भएका छन् । जसमा विपी कोइराला र गिरिजा प्रसाद कोइरालाले तीन/तीन पटक नेतृत्व गरेका छन् । मातृका प्रसाद कोइराला र शेरबहादुर देउवा दुई/दुई पटक सभापति भए ।
नेपाली कांग्रेसको महाधिवेशन नेपालमा नभएर भारतमा पनि भएको थियो । चौंथो महाधिवेशनसम्म कांग्रेसले नेपालमा महाधिवेशन गर्न सकेन । जहानियाँ राणा शासनले गर्दा नेपालमा महाधिवेशन गर्न सम्भव नभएको हो ।
कारण बस २००३ को माघ १२–१३ मा भारतको कलकत्तामा पहिलो महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले टंकप्रसाद आचार्यलाई सभापतिमा मनोनित गरेको थियो ।
दाेस्रो महाधिवेशन पनि नेपालमा हुन सकेन भारतको बनारसमा २००४ माघको २०–२२ गते भयो । जसमा विपी कोइराला दोस्रो सभापति बने ।
भारतकै दरभंगामा २००५ फागुन १८–२० गते तेस्रो महाधिवेशनबाट मातृकाप्रसाद कोइरला सभापति बनेका हुन् ।
२००६ चैत २७–२९ कलकत्तामा नै भएको चौंथो महाधिवेशनमा पनि मातृका नै सभापति भए । मातृकाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले २००७ सालमा राणा शासनको अन्त्य गरेको थियो ।
२००९ जेठ १०–१२ गते जनकपुरमा पाँचौं महाधिवेशन भयो। जसबाट बिपी कोइराला पुनः सभापति भए ।
२०१२ माघ १०–११ वीरगन्जमा भएको महाधिवेशनबाट सुवर्णशमशेर जबरा छैठौं सभापति भए ।
२०१४ जेठ १० गते विराटनगरमा विशेष र काठमाडौंमा वैशाख २५–३१ मा भएको सातौं महाधिवेशनमा विपी कोइराला सभापति भएका थिए ।
२०४८ फागुन १ –३ गते झापामा भएको आठौं महाधिवेशनमा कृष्णप्रसाद भट्टराई सभापति बनेका थिए ।
काठमाडौँमा भएको नवौँ महाधिवेशान, पोखरामा भएको दशौं र ललितपुरमा भएको एघारौं महाधिवेशनबाट गिरिजाप्रसाद कोइरला लगातार तीन कार्यकाल सभापति बनेका हुन् ।
काठमाडौंमा भएको १२ औं महाधिवेशनमा सुशिल कोइराला सभापति बनेका हुन् । काठमाडौंमा भएको तेह्रौँ महाधिवेशनमा शेरबहादुर सभापति बनेका थिए ।
१४ औँ महाधिवेशनमा पनि शेरबहादुर देउवा नै सभापति बनेका छन् । १४ औँ महाधिवेशनको आकर्षण लोकप्रियता हेर्ने हो भने १५ औं महाधिवेशनमा गगन थापा सभापति बन्न सक्ने सम्भावना देखिएको छ ।