काठमाडौं । उत्तर कोरियामा ११ दिनसम्म हास्न, मदिरा सेवन गर्न, किनमेल गर्न, रेल गाडीको हर्न बजाउन र आफन्तको मृत्यु भएमा रुन पनि नपाइने भएको छ ।
उत्तर कोरियाले पूर्वनेता तथा किम जोङ उनका पिता किम जोङ इलको १० औं पुण्यतिथिमा ११ दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेसँगै नागरिक उल्लेखित कार्य गर्नबाट वञ्चित हुने भएका हुन् ।
उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएका अनुसार किम जोङ इलको सम्मानमा पूरा देश उनलाई शान्त श्रद्धाञ्जली दिनेछ ।
किम जोङ इलको मृत्यु सन् २०११ डिसेम्बर १७ मा भएको थियो । दुई दिनसम्म उनको मृत्युका बारेमा कुनै जानकारी सार्वजनिक गरिएको थिएन ।
दुई दिनपछि सरकारी सञ्चार माध्यममार्फत उनको मृत्यु भएको घोषणा गरिएको थियो । किम जोङ इल उत्तर कोरियामा शासन गर्ने किम वंशका दोस्रो व्यक्ति हुन् । उनले उत्तर कोरियामा १७ वर्ष शासन गरेका थिए ।